कांग्रेस खोजिरहेका ओली

नेकपाले थेग्न नसकेको कलंक कांग्रेसले थेगिदिनुपर्ने केही छैन, कांग्रेस ओलीको सति जान सक्दैन

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्ला तीन वर्षमा वाम गठबन्धन, एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी र दुईतिहाइ सरकारको अपार सफल नौटंकीपछि कमरेड केपी ओली नेपाली कांग्रेससँग ‘सत्ता साझेदारी’को प्रस्ताव गर्ने ठाउँमा आइपुग्नुभएको छ । यो त्यही कांग्रेस हो, जसलाई उहाँले ‘अलच्छिना’ उपनाम दिनुभएको थियो र अर्को चुनावपछि कहिल्यै नभेटिने भविष्यवाणी गर्नुभएको थियो । कतिसम्म भने बाँचेका भए बिपी पनि एमाले प्रवेश गर्ने घोषणा गर्नुभएको थियो । 

ओलीको प्रस्तावले एकथरीलाई तरंगित र उत्साहित बनाएको छ । पाँचै वर्ष प्रतिपक्षमा बस्ने संकल्प गरेको पार्टीलाई प्रधानमन्त्रीकै यस्तो प्रस्तावले तरंगित बनाउनु अस्वाभाविक पनि होइन । तर, के कांग्रेस ओलीको साझेदार बन्न सक्छ र बन्न हुन्छ त ? 

सबैलाई थाहा छ, आफ्नै पार्टीभित्र ओली आफ्नै साथीभाइलाई जवाफ दिन नसक्ने भइसक्नुभएको छ । डबल नेकपाको जग सिद्धान्त होइन, स्वार्थ थियो । त्यो आफैँ कमजोर थियो र ढिलोछिटो भत्किनु नै थियो । ओलीको अहंकार, व्यक्तिवादी कार्यशैली र भ्रष्ट व्यवहारले त्यो पतनलाई अझ गति दियो । ओलीले नेपाली राजनीतिमा आफैँले विकास गरेको भाषाको तुच्छता र अपमानको संस्कार आज विषवृक्ष भएर उहाँकै पार्टीमा फैलिइरहेको छ । 

लामो समयसम्म भारतीय संस्थापनको निकट रहेका ओलीलाई अचानक राष्ट्रवादको प्रमाणपत्र बाँड्ने सनक चढ्यो । नाकाबन्दीको अत्याचारबाट तिल्मिलाएको नेपाली जनमतले त्यो सनकलाई पत्यायो पनि । जब भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नक्सामा मात्र हालेन, तामझामका साथ सडक निर्माण पनि सुरु गर्यो, नेपालमा चर्को विरोध भयो ।

नेपालले पनि नक्सा जारी गर्नुपर्छ भन्ने जनमत बन्दै गएपछि प्रधानमन्त्रीको प्रारम्भिक प्रतिक्रिया थियो, ‘नक्सा त छापाखानामा पनि बन्छ, जमिन पो फिर्ता ल्याउन पर्छ ।’ प्रतिपक्षदेखि सबै नक्सा जारी गर्ने ठाउँमा उभिएपछि नयाँ नक्सा त जारी भयो, तर प्रधानमन्त्रीले शिक्षा मन्त्रालयले तयार गरिसकेको नक्साको पुस्तिका वितरण गर्न दिनुभएन र भारतलाई खुसी बनाउनतिर लाग्नुभयो ।

सम्बन्ध सुधारका नाममा कूटनीतिक मर्यादाविपरीत भारतसँगको राजनीतिक सम्बन्धलाई फेरि ‘र’का हातमा पुर्याउनुभयो । चीनतिरको सीमा विवादमा त उहाँ अध्ययनका लागि पनि तयार हुनुभएन । यी दुई उदाहरण नै पर्याप्त छन्, ओलीको विदेश नीति र देशभक्ति कस्तो हो र कसका लागि हो ?

दलाल पुँजीवादविरुद्ध लड्छौँ भनेका कमरेडहरू अहिले दलाल उत्पादनको प्रतिस्पर्धामा छन् । अहिलेको नेकपाको लडाइँमा पनि आ–आफ्ना दलालहरूको संरक्षणको प्रश्न छ । ओली मात्र होइन, नेकपा नै समाजमा नांगिइसकेको छ । यो नग्नता लुकाउन नेकपाका सबै गुट कांग्रेसको मजेत्रो ओढ्न चाहेका छन् ।

जतिवेला हामी युवा विद्यार्थी सडकमा गणतन्त्रका लागि जीवनमरणको लडाइँ लड्दै थियौँ, ओली हामीलाई ‘बयलगाडा चढेर अमेरिका जाने’ भन्दै होच्याउनुहुन्थ्यो । हामीले ल्याएको त्यही गणतन्त्रको बुइ चढेर उनै ओली दुईपटक प्रधानमन्त्री र विद्या भण्डारी दुईपटक राष्ट्रपति बन्नुभयो ।

आज फेरि ओलीकै तीनवर्षे स्थिर कुशासनको जगमा सडकमा ‘राजा आऊ देश बचाऊ’ सुरु भएको छ । राष्ट्रपतिका लागि आकाश पनि खाली गरेर, शाही तामझामसमेत बिर्साउने नौटंकी रचेर ओली अहिले पनि गणतन्त्रसँग बदला लिइरहनुभएको छ । हिजो गणतन्त्रलाई भाषणबाट उपहास गर्ने ओली आज गणतन्त्रलाई शासनबाट उपहास गरिरहनुभएको छ । 

अब नेकपाको प्रसंग । दलाल पुँजीवादविरुद्ध लड्छौँ भनेका कमरेडहरू अहिले दलाल उत्पादनको प्रतिस्पर्धामा छन् । अहिलेको नेकपाको लडाइँमा पनि आ–आफ्ना दलालहरूको संरक्षणको प्रश्न छ । ओली मात्र होइन, नेकपा नै समाजमा नांगिइसकेको छ । यो नग्नता लुकाउन नेकपाका सबै गुट कांग्रेसको मजेत्रो ओढ्न चाहेका छन् । बढी समस्यामा ओली हुनुहुन्छ, त्यसैले अग्रसरता उहाँले लिनुभएको छ । 

वाम घोषणापत्रमा दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउँछौँ भनिएको थियो । किसानले साउन त परको कुरा, मंसिरमा समेत मल पाएका छैनन् । समाज सोधिरहेको छ, निर्मला पन्तका बलात्कारी र हत्यारा कहाँ छन् ? कहाँ छ, तेत्तीस किलो सुन ? कहाँ छ, यातायात सिन्डिकेटको खाता ?

जरिवानासमेत नतिराई किन गरियो सबै ठेक्काको नवीकरण ? कहाँ हरायो, सुटबुटवाला ‘नयाँ युगको सुरुवात ?’ कति घट्यो महँगी ? कति खुले नयाँ उद्योग ? कति बढ्यो निर्यात ? के छ मध्यपहाडी राजमार्गको प्रगति ? कहाँ पुग्यो लगभग मुआब्जा बाँडिसकेको बुढीगण्डकी आयोजना ? के–के थपिए सिग्नेचर प्रोजेक्ट ? अहिले कोभिड बहाना भएको छ, तर कोभिडको कारणले होइन, वामपन्थीहरूका कारणले समृद्धि प्राप्त हुन नसकेको हो । कोभिडअघिका करिब अढाई वर्षको कस्तो प्रगति विवरण छ, कमरेडहरूसँग ? खासमा यो ओलीको नेतृत्व भएको तर समग्रमा कम्युनिस्ट राजनीतिको पराजय हो ।

कोभिड कहरपछि ओली सरकार लकडाउन लगाएर ओम्नीको नेतृत्वमा लुटको खेतीमा लाग्यो । हजारौँ निमुखा नागरिक सरकारसँग लुक्दै रातिराति भोकैप्यासै थातथलो फर्के । रोजगारी गुमाएका हजारौँ जनताको बिल्लिबाठ भयो । सरकारको लाचारी र उदासीनताले आजित स्वयंसेवी समूहहरू राजधानी र बाहिर पनि सडकमा ओर्लिए र भोका नागरिकलाई खाना खुवाउने अभियान सुरु गरे । महिनौँपछि अचानक सरकारलाई इज्जतको ख्याल आयो र त्यो अभियानमाथि हस्तक्षेप गरियो । र, भनियो, यसरी त सरकारको इज्जत गयो !

ओली सरकारको इज्जत त्यतिखेर गएन, जतिखेर बेइजिङमा सेनाको जहाजबाट सरकारका सामान झारेर ओम्नीका सामान हालियो । हजारौँ जनता पैदलै हप्तौँ लगाएर बिचल्लीका साथ थातथलो फर्कंदा ओली सरकारको इज्जत गएन । कोभिडको यो महामारीमा महिनौँसम्म एउटै भेन्टिलेटर नकिन्दा तर बिचौलिया र दलालहरूका लागि जतिसुकै गिर्दा पनि सरकारको इज्जत गएन ।

कामचोर ठेकेदारलाई विनाजरिवाना एकमुष्ठ म्यादथप गर्दा सरकारको इज्जत बढ्यो । साउन त परको कुरा, मंसिरमै पनि मल नल्याएर किसानको बिचल्ली पार्दा सरकारको इज्जत अझ थपियो । संवैधानिक निकाय वर्षौंदेखि खाली हुँदा सरकारको इज्जत गएन । प्रतिपक्षलाई दिनुपर्छ भनेर उपसभामुख चयन सुरु नै नगर्दा पनि सरकारको इज्जत जीवितै रह्यो । 

मन्त्रालयका सचिवले मेलम्ची प्रकरणमा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर मन्त्रीले पैसा मागेको आरोप लगाए । तर, सरकारको इज्जत गएन । सेक्युरिटी प्रेस काण्डमा मन्त्री गोकुल बाँस्कोटाको अडियो नै बाहिरियो, त्यसले पनि सरकारको इज्जत घटाएन । यतीसँग प्रधानमन्त्रीको अविच्छिन्न तर अनैतिक सम्बन्धले सरकारको इज्जतमा कुनै आँच आएन ।

अझ ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालको सरकार एसियाकै सबैभन्दा भ्रष्ट भनेर घोषणा गरेपछि त सरकारको इज्जत चुलीमै पुग्यो । महामारीमा रोजगार गुमाएर दर्दनाक अवस्थामा स्वदेश फर्केका नेपालीलाई कमिसनखोरहरूसँग मिलेर सरकारले नै भाडामा लुट्यो । असहाय नेपालीले दूतावासहरूकै अगाडि प्रदर्शन गरे ।

त्यो प्रदर्शनले पनि सरकारको इज्जत नै बढ्यो । कोभिडको परीक्षण र उपचारको दायित्वबाट सरकार बहादुरीका साथ भाग्न खोज्यो । त्यतिखेर पनि सरकारको इज्जतमा कुनै चोट लागेन । असहाय जनताका लागि सिन्कोसम्म नभाँचेको त्यही सरकारको इज्जत भोका पेटका लागि स्वयंसेवी अभियानले गयो । इज्जतको यही परिभाषाले देखाउँछ, ओली सरकार कसको हो ? कस्तो हो ?

ओली विषयान्तर गर्न माहिर हुनुहुन्छ । चाहिएको छ भेन्टिलेटर तर ओली फ्याँक्नुहुन्छ राम मन्दिरको पत्ता । चाहिएको छ स्थिरता, कांग्रेसलाई फ्याँक्नुुहुन्छ साझेदारीको चारो । जवाफ पाउँ न, कति अन्तर्राष्ट्रिय लगानी भित्रियो ? कति रोजगारी थपिए ? कहाँ आइपुग्यो चुच्चे रेल ? कहाँ घुम्दै छ राष्ट्रिय झन्डा भएको पानीजहाज ?

हिजोसम्म बिचौलिया र दलालहरूले नियामक ठाउँमा आफ्नो मान्छे पठाउन लबिङ गर्थे । लगानी बोर्ड होस् वा नेपाल वायुसेवा निगम, ओली राजमा बिचौलिया नै सीधै त्यो ठाउँमा पुगेका छन् । बालुवाटार काण्डमा मुछिएकालाई दण्डस्वरूप अर्थमन्त्रीको पद थमाइएको छ । लाखौँ विद्यार्थी घरमा बस्न बाध्य छन्, वैकल्पिक उपाय खोजिएको छैन । समृद्धि ओलीको, ओम्नीको, यतीको भएको छ । 

कमरेडहरू लालसम्राट बनेका छन् । तिनको जीवनशैली महाशाही भइसकेको छ । देखाउनुपर्ने माफियालाई थियो, तर कमरेडहरू देखाउन जान्छन्, डा. गोविन्द केसीलाई । यही हो कमरेडहरूको समाजवादको बाटो ? सरकारको अयोग्यता आज व्यवस्था र संविधानको अयोग्यता बनिरहेको छ । सडकमा राजावादीको बढ्दो मनोबलको मूल कारण यही सरकार हो ।

आफ्नै नेतासँग संवाद र समन्वय गर्न नचाहनेले प्रतिपक्षलाई कसरी विश्वासमा लिन्छ ? ओलीसँग न नीति छ, न दृष्टिकोण, न इच्छाशक्ति । छ त केवल अहंकार । ओली सरकारको एउटै पहिचान छ ः शैलीमा स्वेच्छाचारिता, नियतमा भ्रष्टाचार, व्यवहारमा निरंकुशता ।

ओलीको सत्ता जोगाउन चुनाव हारेका वामदेव गौतम र नारायणकाजी राष्ट्रिय सभामा लगिए र व्यवस्थाकै बदनाम भयो । कमरेडहरू आफ्ना घरझगडा मिलाउन व्यवस्थाको बलि चढाउँदै छन् । राजनीतिमा विमति हुन्छन् । आरोप–प्रत्यारोप पनि हुन्छन् । तर, त्यसको पनि आफ्नै मर्यादा हुन्छ ।

ओलीले कांग्रेसको मानमर्दन गर्न कहिल्यै मर्यादाको ख्याल गर्नुभएन । कांग्रेस सरकारमा हुँदा सडक दुर्घटना पनि ओलीका लागि कांग्रेसको ‘अलच्छिन’ हुन्थ्यो । स्थानीय तहको पहिलोे निर्वाचनलगत्तै ओलीको प्रतिक्रिया थियो, ‘कांग्रेसजस्तो पार्टी कसरी एमालेको प्रतिस्पर्धामा आउन सक्यो ?’ सखापै बनाउने संकल्प लिएको त्यही कांग्रेस आज किन उहाँको आवश्यकता भयो त ? लोकतन्त्रका लागि ? होइन । देशभक्तिका लागि ? होइन ।

आफ्नै नेतासँग संवाद र समन्वय गर्न नचाहनेले प्रतिपक्षलाई कसरी विश्वासमा लिन्छ ? ओलीसँग न नीति छ, न दृष्टिकोण, न इच्छाशक्ति । छ त केवल अहंकार । ओली सरकारको एउटै पहिचान छ ः शैलीमा स्वेच्छाचारिता, नियतमा भ्रष्टाचार, व्यवहारमा निरंकुशता । ‘मेरो वचन नै हो शासन’ भन्ने बानी परेका ओलीले कसरी कांग्रेससँग साझेदारी गर्नुहोला ?

ओलीका लागि स्वार्थ नै सिद्धान्त हो । हिजो मधेस आन्दोलनका मृतकहरू ओलीका लागि ‘झरेका आँप’ थिए । राजेन्द्र महतोहरू घनघोर राष्ट्र–विरोधी थिए । पछि राजेन्द्र महतोलाई चुनाव जिताउन उहाँलाई कत्ति संकोच भएन । पछि राष्ट्रिय सभाको निर्वाचनमा महतोहरू सहोदर कमरेड नै भए । हिजो उहाँका लागि माओवादी केवल हत्यारा थिए, पछि रातारात गठबन्धनका लायक भए । अलि पछि त एउटै पार्टीका सहोदर कमरेड नै भए ।

माधव नेपालहरूलाई हैसियत देखाउन प्रचण्डहरू प्रयोग गरिए, आज माधव–प्रचण्डहरूलाई एकमुष्ठ देखाउन शेरबहादुरहरू प्रयोग गरिँदै छन् । संवैधानिक नियुक्तिहरू वर्षौं खाली हुँदा ओलीलाई कहिल्यै प्रतिपक्षको सम्झना आएन । दुईतिहाइको उन्मादमा सभामुख र उपसभामुख दुवै एउटै पार्टीबाट हुँदा कहिल्यै संवैधानिक व्यवस्था र संसदीय मर्यादाको ख्याल भएन । विश्वविद्यालयहरूको कमरेडीकरण गर्दा कहिल्यै लोकतन्त्रको सम्झना भएन । 

कांग्रेसका प्रश्नको जवाफ ओलीले पछि दिए पनि हुन्छ । पहिले आफ्नै पार्टीका कार्यकारी अध्यक्षसहित शीर्ष पाँच नेताका प्रश्नको जवाफ दिनोस् । नेकपाले थेग्न नसकेको कलंक कांग्रेसले थेगिदिन पर्ने केही छैन । हाम्रा नेताहरूलाई हेरेर ओलीलाई अर्कै लाग्दो हो, तर नेपाली कांग्रेस पार्टी कुनै कन्टेनर होइन । त्यहाँ ओलीका कलंकपूर्ण कर्महरूलाई कुनै ठाउँ छैन । कांग्रेस ओलीको सति जान सक्दैन । ओली मात्र होइन, दशकौँदेखि साम्यवादका नाममा जनतालाई झुक्याएको लाल राजनीति अब निर्णायक पतनको छेउमा छ । कांग्रेसले राम–राम भन्न सक्छ, काँध थाप्न सक्दैन ।

सुझावित समाचार