भारतको जम्मु–कस्मिरमा पहिलो चरणको मतदान

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण

भारतको जम्मु र कस्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचनअन्तर्गत मतदान भएको छ । जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार बिहानदेखि मतदान भएको हो । 

स्थानीय समयाअनुसार बिहान सुरु भएको मतदान दिउँसो २ बजे सम्पन्न हुनेछ। केन्द्रीय सरकारमातहतमा रहेको कुल दुई सय ८० निर्वाचन क्षेत्रमध्ये ४३ निर्वाचन क्षेत्रमा शनिबार पहिलो चरणको मतदान भएको हो ।  

जम्मु र कस्मिरमा जिल्ला विकास परिषद्को निर्वाचन आठ चरणमा सम्पन्न गर्ने निर्वाचन कार्यालयले तालिका बनाएको छ । सबै चरणका निर्वाचन आगामी १९ डिसेम्बरमा सम्पन्न हुने छ । 

त्यसैगरी मतगणना भने २२ डिसेम्बरदेखि हुने निर्वाचन कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् । जिल्ला विकास परिषद्सँगै खाली रहेका सहरी स्थानीय संयन्त्र (युएलबी)को दुई सय ३४ सिटका लागि पनि निर्वाचन हुने जनाइएको छ । 

निर्वाचनका लागि नेसनल कन्फ्रेन्स, पिपल्स डेमोक्रयाटिक पार्टी, पिपल्स कन्फ्रेन्स र सिपिआई (एम) पार्टीले गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा राष्ट्रिय पार्टीहरू भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेसले पनि उम्मेदवारी दिएको छ । 

मतदानका क्रममा कोरोना भाइरस सर्न नदिनका लागि आधारभूत स्वास्थ्य सतर्कता अपनाउन लगाइएको छ । स्वास्थ्य विभागका कर्मचारीहरूलाई परिचालन गरेर निर्वाचनमा संलग्न सबैलाई मापदण्ड पलना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त के–के शर्माले जानकारी दिए । ‘निर्वाचनका लागि अत्यावश्यक पर्ने, सुरक्षा व्यवस्थालगायतका सवै व्यवस्थापन पर्याप्त रूपमा गरिएको छ,’ शर्माले भने । उनका अनुसार पहिलो र दोस्रो चरणको निर्वाचन हुने दुर्गम क्षेत्रमा पनि निर्वाचनको तयारी पूरा गरिएको छ ।  

जम्मु र कस्मिरका प्रहरी महानिर्देशक डिलबाग सिंहको अध्यक्षतामा शुक्रबार बसेको उच्चस्तरीय बैठकले निर्वाचनको तयारीसम्बन्धी सबै पक्षमा समीक्षा गरेको थियो । 
 

सुझावित समाचार