अमेरिकी राष्ट्रपति ट्रम्पले दिए ह्वाइटहाउस छाड्ने संकेत

शुक्रबार, १२ मंसिर, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरूले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइटहाउस छाड्ने बताएका छन् । 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रूपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन् । यद्यपि यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाएका थिए । 

ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गरेका थिए । चोरी मतपत्रबारे भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेका थिए । 

तर, अदालतले भने ट्रम्पले लगाएका आरोपहरूमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरू खारेज गरिदिएका थिए । 

हाल राष्ट्रपति ट्रम्पले दिएको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगेको आकलन गरिएको छ । बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइटहाउसबाट बाहिरिने ट्रम्पले बताए । 

इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदै छ ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेदवारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ । हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले तीन सय ६ र डोनाल्ड ट्रम्पले दुई सय ३२ मत प्राप्त गरेका छन् । 

संविधानअनुसार कुल पाँच सय ३८ इलेक्टोरल मत रहेको अमेरिकामा दुई सय ७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

नयाँ राष्ट्रपतिले आगामी सन् २०२१ को जनवरी २० मा शपथग्रहण गर्नेछन् । त्यसयता जो बाइडेन निर्वाचितका राष्ट्रपति रूपमा रहनेछन् । 

सुझावित समाचार