सरकारले अनुदानबाट जुटायो २०८ भेन्टिलेटर

२२ भेन्टिलेटर किन्न तीन महिनाअघि टेन्डर आह्वान भए पनि निर्णय अझै भएन

शनिबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

एक सय २० आइसियू बेड थप्ने माघमै गरेको घोषणा पनि अलपत्र

देशमा कोरोना संक्रमण देखिएको नौ महिनाको अवधिमा विभिन्न सरकारी अस्पतालमा दुई सय आठ भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले खरिद गरेको नभएर दाताहरूले दान दिएका हुन् । सरकारले त तीन महिनाअघि टेन्डर गरेका २२ भेन्टिलेटरसमेत अहिलेसम्म खरिद गर्न सकेको छैन । 

संक्रमितको उपचारका लागि गत माघमै एक सय २० आइसियू बेड थप्ने घोषणा पनि सरकारले अझै पूरा गरेको छैन । स्वास्थ्य मन्त्रालय दाताहरूसँग हात थाप्नमै आनन्द मानिरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. रमेश खरेलका अनुसार सरकारले अहिलेसम्म आफ्नो पैसाबाट आइसियू–भेन्टिलेटर केही पनि खरिद गरेको छैन । 

स्वास्थ्य मन्त्रालयले भदौ पहिलो साता करिब ६ करोड रुपैयाँमा २२ वटा भेन्टिलेटर खरिद गर्न टेन्डर आह्वान गरेको थियो । तर, अहिलेसम्म आउने–नआउने निश्चित छैन । त्यसबारे अन्तिम निर्णय हुन सकेको छैन । यो विषय छलफलमै रहेकाले भेन्टिलेटर खरिद हुन अझै केही समय लाग्ने डा. खरेलले बताए । 

डा. खरेलका अनुसार अहिलेसम्म विभिन्न दाताहरूले दुई सय आठ थान भेन्टिलेटर दानमा दिएका छन् । शुक्रबार मात्रै अमेरिकी सरकारले २५ करोड रुपैयाँबराबरको सय थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ । त्यस्तै, गत आइतबार भारत सरकारले २८ वटा भेन्टिलेटर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुसार त्यसबाहेक यसअघि टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हर्टले दुईवटा भेन्टिलेटर सहयोग गरेका थिए । त्यस्तै, भारतले नेपाली सेनालाई यसअघि १० थान भेन्टिलेटर पनि उपलब्ध गराएको थियो । 

देशभर ८७ संक्रमित भेन्टिलेटरमा, तीन सय ८७ आइसियूमा 

स्वास्थ्य मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार देशभरका अस्पतालमा ८७ संक्रमितको भेन्टिलेटर र तीन सय ८७ को आइसियूमा उपचार भइरहेको छ । उपत्यकाका अस्पतालमा मात्रै ६१ जना भेन्टिलेटरमा र एक सय ६८ जना आइसियूमा छन् ।

लुम्बिनी प्रदेशमा आइसियूमा ७१ र भेन्टिलेटरमा एकजना छन् । गण्डकी प्रदेशमा ६९ जना आइसियू र ११ जना भेन्टिलेटर, प्रदेश १ मा ४९ जना आइसियू र १२ जना भेन्टिलेटरमा, प्रदेश २ मा १४ जना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । त्यस्तै, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा पाँचजना आइसियूमा उपचाररत छन् । 

कोरोनाको सामान्य वा मध्यम खालको लक्षण देखिएका संक्रमितलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राखिहाल्नुपर्ने अवस्था हुँदैन । उनीहरूको अक्सिजन दिएर वा अन्य चिकित्सकीय सहायतामार्फत उपचार सम्भव छ । तर, गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा गम्भीर लक्षण देखिएका र पहिलेदेखि नै विभिन्न दीर्घरोग भएका व्यक्ति धेरै छन् । त्यसैले मृत्यु घटाउन भेन्टिलेटर र आइसियू महत्वपूर्ण हुन्छ, जसले देशैभर अभाव छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नौ हजार पाँच सय ३३ नमुना परीक्षण गर्दा दुई हजार एक सय ११ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या एक हजार दुई सय दुई पुगेको छ । हाल देशभर ३७ हजार २२ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये २९ हजार ४९ होम आइसोलेसनमा बसेका छन् । 

अमेरिकाद्वारा सय थान भेन्टिलेटर सहयोग

  •  अमेरिकी राजदूत ऱ्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग युएसएआइडीमार्फत नेपाललाई सय थान भेन्टिलेटर सहयोग गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

मन्त्री ढकालले भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए । कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले नै महामारीको लडाइँमा भेन्टिलेटर सहयोग गरेकोमा नेपाल खुसी रहेको उनले बताए । मन्त्री ढकालका अनुसार नेपालमा करिब एक हजार थान भेन्टिलेटर रहेकोमा अमेरिकाले एकैपटक त्यसको करिब १० प्रतिशत थपिदिएको छ ।

मन्त्री ढकालले अमेरिकाले दिएको भेन्टिलेटर सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूलाई सात–सातवटा र बाँकी ५१ भेन्टिलेटर सरकारी अस्पतालमा दुई–दुईवटाको दरले वितरण गरिएको जानकारी पनि दिए । कोरोनाविरुद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुने उनले बताए । कोभिड– १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा पनि मन्त्री ढकालले गरे ।

अमेरिकी राजदूत बेरीले असल र खराब दुवै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिबद्ध रहेको बताए । ‘यी भेन्टिलेटरमार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ, जसले गर्दा कोभिड– १९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून्,’ उनले भने । राजदूत बेरीले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिकी विधि उपलब्ध गराउन अमेरिका प्रतिबद्ध रहेकोसमेत बताए ।

सुझावित समाचार