उपेन्द्र यादवको दाबी– ओलीलाई पदमा बस्न नैतिकताले दिँदैन, अब अर्को आन्दोलन हुन्छ

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई सरकारमा बस्ने नैतिकता नभएको बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा यादवले भने, ‘आफैँले निर्माण गरेको संविधान उल्टाउनु र सरकारको नेतृत्व गर्नु प्रधानमन्त्री ओलीको नैतिकताले दिँदैन ।’ 

प्रदेश सरकारको सबै अधिकार कटौती गर्ने नेकपाको सरकारविरुद्ध अर्को आन्दोलन गर्नुपर्ने उनले बताए । अधिकार र पहिचानको लागि फेरि अर्को आन्दोलनको आवश्यकता रहेको र जनता समाजवादी पार्टी नेतृत्व लिन तयार रहेको उनको भनाइ छ  । 

नेता राजकिशोर यादवले इतिहासको हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भूमिका रहेको बताउँदै अधिकारको लडाइँमा साथ दिन आग्रह गरेका थिए । 

कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले नेकपा सरकारले मधेसी जनताको आँखामा छारो हालिरहेकाले सजग रहनुपर्ने बताएका थिए । मधेस र मधेसीको हक अधिकार दिलाउने एक मात्र पार्टी जसपा रहेको मन्त्री यादवको दाबी छ । 
 

सुझावित समाचार