अविलम्ब बैठक राख्न नेकपा अनुशासन आयोगको आग्रह

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले विगतका विभाजनबाट शिक्षा लिनुपर्नेमा जोड दिँदै पार्टीभित्र चर्किरहेको अन्तरविरोध समाधानका लागि अविलम्ब पार्टीको बैठक बोलाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तरविरोध समाधानका लागि अविलम्ब पार्टी बैठक बोलाउन आग्रह गरेका हुन् ।
      
यस्तो छ विज्ञप्ति
नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको छ । समाजलाई रूपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई हामी कसैले इन्कार गर्न मिल्दैन । यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने ‘गालीगलौज’ ‘निन्दा भर्त्सना’ ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहररू सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन् । यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो । 

हामीसँग अन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा मार्क्सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्न ठुल्ठूला विवादहरू पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरू हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु । 

विधि र पद्धति पार्टीका प्राण हुन् । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरू हामीले बुझेकै छौँ । तर, हामी किन पार्टी विधानअनुसार विधि पद्धतिको पालना गर्दैनौँ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौँ ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरू कुनै स्वार्थ छन् ? अनि हामीहरू किन नितान्त आत्मकेन्द्रित भएर सोच्दछौँ । 

हामीले यो कुरा बुझ्नुपर्छ, मार्क्सवादीहरू हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन् । भित्र एउटा कुरा र बाहिर अर्काे कुरा गर्दैनन् । जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन् । पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमान्दारितापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन् । एउटा कम्युनिस्टले अबलम्वन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो । तर, व्यवहारमा हाम्रो पार्टी यी कामहरूमा किन पछि परेको छ । सबैको मनमा प्रश्न उठिरहेको छ । 

पार्टीका निर्णयहरू आवश्यकताले कार्यान्वयनको लागि गरिन्छ । दराजमा सजाउनका लागि होइन । पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरू आजसम्म कार्यान्वयन नभई निष्क्रिय बसेका छन् । पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरू आजसम्म थाती रहेका छन् । यो दुःखद पक्ष हो । तीन महिना, एक महिना, पन्ध्र दिन र दश दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको छ । तर, विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरू वर्षाैँसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिदैन ? यतिसम्म कि लामो रस्साकस्सी र विवादपछि समाधान हेतु कार्यदलले प्रस्तावको रूपमा ल्याएको तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित गरेको निर्णयसमेत आजपर्यन्त अलपत्र छन् । निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन । बरु त्यसलाई अनेकौ बहानामा पन्छाउने काम भइरहेको छ । 

पार्टी नेतृत्वको सोच सधैँ फराकिलो हुनुपर्दछ । हृदयमा विशालता छैन भने त्यो कम्युनिस्ट हुनै सक्तैन । संकीर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिसरागले पार्टी चल्न सक्दैन । उत्तेजना, आवेग र गालीगलौजले समस्याको हल हुँदैन । यसले त विवादलाई सरल होइन झन् जटिल बनाउँछ । तनावलाई शिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पुऱ्याउँछ । विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ ? यो गल्ती हामीले कदापि गर्नुहुँदैन । पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ । पार्टी विधानबमोजिम त्यसको समाधानमा पहल गर्नुपर्दछ ।

अन्त्यमा, पार्टीका जिम्मेवार नेतृत्व गणप्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन् । विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौँ । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ । 

त्यसैले कमरेडहरू, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौँ । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔँ । पार्टी एकताका बाँकी सबै कामहरू छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाऔँ । पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौँ । संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु । 

सुझावित समाचार