काठमाडौं विश्वविद्यालय (केयू)ले जारी गरेको शुल्क भुक्तानीसम्बन्धी सूचनाविरुद्ध विद्यार्थी आन्दोलित भएका छन् ।
विश्वविद्यालयले कक्षाकोठामै पठनपाठन सञ्चालन गरेसरह अनलाइन कक्षाको शुल्क बुझाउन ताकेता गरेपछि विद्यार्थीले असन्तुष्टि जनाएका थिए ।
विद्यार्थीले अनलाइनमार्फत पठनपाठन भएको शुल्क मात्र लिन भन्दै विज्ञप्ति प्रशासनमा बुझाउँदासमेत बेवास्था गरेको भन्दै आइतबारबाट अनशन नै सुरु गरेका छन् ।
काठमाडौं विद्यालय स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले मंसिर १५ सम्म शुल्क बुझाए छुट दिने सूचना जारी गरेका थिए । फेरि असोज २२ मा जारी सूचनामा कात्तिक ३० सम्म शुल्क बुझाए १० प्रतिशत र मंसिर १५ सम्म बुझाए ७ प्रतिशत छुट दिने उल्लेख छ ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरू भने उक्त कार्यको विरोधमा अनशन बसेका छन् । कोरोना भाइरस (कोभिड– १९) का कारण अनलाइन कक्षा पढाइ हुँदा पनि अन्य पढाइ नै नभएको विषय र अन्य क्रियाकलापको पनि शुल्क लिन खोजेकाले अनशन बस्नुपरेको स्कुल अफ इन्जिनियरिङका विद्यार्थी शैलेश मिश्रले बताए ।
‘अनलाइन माध्यमबाट पठनपाठन भएको शुल्क कसैलाई पनि मर्का नपर्ने गरी लिनुपर्ने हाम्रो माग हो,’ मिश्रले भने, ‘कोभिडको यस्तो समयमा पनि अन्य वेलाको जस्तै पूरै शुल्क बुझाउन सूचना निकालेपछि हामीले असहमति जनाउँदा पनि विश्वविद्यालयले नसुनेकाले हामी अनशन बस्न बाध्य भएका हौँ ।’
इन्जिनियरिङका विद्यार्थीले ट्युसन फीबाहेक अन्य शीर्षकमा २६ हजार बढी शुल्क बुझाउनुपर्ने मिश्रले बताएका छन् । ट्युसन फी मासिक ५६ हजार बुझाउनुपर्ने त्यो बुझाउन तयार रहेको उनको भनाइ छ ।
‘अनलाइन कक्षाबापत ट्युसन फीको ५६ हजार दिन्छौँ, कोरोनाका कारण सञ्चालन नै नगरिएको अन्य विषयमा लिन खोजिएको फी भने तिर्दैनौँ,’ मिश्रले भने, ‘२६ हजार विश्वविद्यालयले छुट दिनुपर्छ ।’
विश्वविद्यालयले पठनपाठनबापत ‘ट्युसन शुल्क’सहित पुस्तकालय, खेलकुद, अतिरिक्त क्रियाकलाप, स्वास्थ्य बिमा, कम्प्युटर, पठनसामग्री, प्रयोगात्मक कक्षा, ल्याब, इन्टरनेटलगायत सबैको शुल्क लिन खोजेकाले आफूहरू आन्दोलित भएको समाजवादी विद्यार्थी युनियन काठमाडौं विश्वविद्यालय कमिटीका केन्द्रीय सदस्य शौरभजंग थापाले बताए ।
‘हामीले अनलाइनमार्फत पढेको विषयहरूको शुल्क तिर्न तयार छौँ, तर अन्य हामीले प्रयोग नगरेको कुनै पनि विषयको शुल्क तिर्न तयार छैनौँ,’ थापाले भने, ‘विश्वविद्यालयले शिक्षा दिने हो व्यापार गर्ने हाेइन ।’
स्कुल अफ इन्जिनियरिङका शैलेश मिश्र, स्कुल अफ साइन्सका सिर्जना श्रेष्ठ, स्कुल अफ म्यानेजमेन्टका आएशा शाक्य र स्कुल अफ लका सादाब खानको नेतृत्वमा अनशन विश्वविद्यालयको प्रांगणमा बसेका छन् ।