काठमाडौंमा नियमित फोहोर उठ्न छोड्यो, ठाउँठाउँमा फोहोर थुप्रिँदै, होम आइसोलेसनबाट निस्केको फोहोरको उचित व्यवस्थापन नहुँदा मजदुर जोखिममा
काठमाडौंको कालोपुल–ज्ञानेश्वर सडकखण्डको एकछेउमा काठमाडौं महानगरपालिकाले निषेधाज्ञा बोर्ड लगाएको छ । बोर्डमा लेखिएको छ, ‘यहाँ फोहोर फाल्न सख्त मनाही छ । फालेको पाइएमा पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।’ तर, त्यहीँ फोहोर फालिएको छ भने पोलको छेउमै थुप्रिएको फोहोर भने उठेको छैन ।
फोहोर फाल्न निषेध गरिएकै क्षेत्रमा फोहोर थुप्रिएको छ । यहाँ सधैँ फोहोर थुप्रिने गरेको स्थानीय कृष्ण तरकारी पसलका सञ्चालक कृष्ण कार्की बताउँछन् । उनी भन्छन्, ‘कहिलेकाहीँ त महिनौँसम्म फोहोर लिन आउँदैनन्, त्यसैले सबैले त्यहीँ फाल्न थाले । फोहोर कुहिएर टोलै दुर्गन्धित हुन्छ, कुकुर र बाँदरले छरेर सडकभरि पुर्याउँछन् ।’
कानुनले पनि सार्वजनिक स्थलमा फोहोर फाल्न नहुने र फालेमा दण्डनीय हुने भनेको छ । सडकमै फोहोर फाल्ने प्रवृत्ति कम गर्न महानगरपालिकाले ठाउँ–ठाउँमा यस्तै सूचना बोर्डसमेत राखेको छ । तर, केही समययता नियमित फोहोर उठ्न छाडेको छ । निषेधित क्षेत्रमा फोहोर थुप्रिँदै गएको पाइएको छ ।
अझ कोभिड–१९ को संक्रमण बढिरहेका वेला संक्रमणको कारण बन्न सक्ने फोहोर काठमाडौंका सडकभरि थुप्रिएको छ । अहिले काठमाडौंमा त्यस्ता टोल कमै मात्र छन्, जहाँ कोरोनाको संक्रमण नदेखिएको होस् । धेरै संक्रमित होम आइसोलेसनमा बसेका छन् । त्यस्ता घरबाट निस्किएको फोहोर व्यवस्थापनमा पनि ध्यान दिइएको छैन । जसले गर्दा फोहोर व्यवस्थापनमा खटिने मजदुर जोखिममा परेका छन् ।
कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन सुरु भएयता काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुँदै आएको छ । अधिकांश ठाउँमा फोहोर उठाउने काम नियमित भएको छैन । कोरोना संक्रमणका कारण धेरै मजदुर पनि प्रभावित भएका छन्, जसले गर्दा नियमित फोहोर उठ्न नसकेको जनाइएको छ ।
उपत्यकाका धेरै स्थानीय तहको फोहोर उठाउने नेप्सेम्याक प्रालिका सुपरभाइजर सुरेन्द्र पराजुली फोहोर उत्सर्जन बढेको बताउँछन् । ‘लकडाउन र निषेधाज्ञा भएयता फोहोर उत्सर्जन घटेको छैन, बरु घरभित्रको फोहोरको मात्रा झनै बढेको छ,’ उनी भन्छन् । तर, संक्रमित बस्ने घरदेखि अस्पतालसम्मको फोहोर व्यवस्थापनमा खटिने मजदुरको स्वास्थ्य सुरक्षाका लागि सरकारले पनि चासो दिएको छैन ।
स्थानीय तहहरूले पनि फोहोरमैला व्यवस्थापनमा खासै चासो दिएका छैनन् । मजदुरहरू सडक र फोहोरमैला संकलन केन्द्रमा सामान्य स्वास्थ्य सुरक्षा उपकरणसमेत नलगाई काम गर्न बाध्य छन् । ‘संक्रमण बढेकोबढ्यै छ, अब भगवान् भरोसा भनेर काम गरिरहेका छौँ,’ पराजुली भन्छन् ।
सरसफाइमा काम गर्ने कर्मचारीले पर्याप्त सुरक्षा सामग्री पाएका छैनन् । एउटै मास्कले हप्तौँ काम चलाउनुपर्छ । ‘सडक र घरसम्म पुगेर फोहोर उठाउँदा पिपिई लगाएर काम गर्न हम्मे–हम्मे पर्छ, त्यही पनि पाइँदैन,’ सफाइमा खटिएका एक कर्मचारी भन्छन्, ‘कम्पनीले वेलावेला दिने हो, अरू वेला आफैँ लगाए ठिकै, नलगाए पनि ठिकै, जोखिम आफैँले मोल्नु परेको छ ।’ सरसफाइ मजदुरको कोरोना परीक्षणसमेत गरिएको छैन । उपत्यकामा काठमाडौं महानगरका सहित करिब तीन हजार दुई सय सफाई मजदुर फोहोर व्यवस्थापनमा खटिएका छन् ।
काठमाडौं महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने फोहोर व्यवस्थापनमा कुनै कमी नआएको दाबी गरे । ‘संक्रमणबाट जोगिँदै नियमित फोहोरमैला व्यवस्थापनको काम भइरहेको छ, अहिले पनि दैनिक एक सय ३० वटा गाडी सिसडोल पुगिरहेका छन्,’ उनले भने ।
काठमाडौं महानगरकै संयोजनमा उपत्यकाका १६ वटा नगरपालिकाको फोहोर सिसडोलमा विसर्जन हुँदै आएको छ । पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा उत्सर्जन भएको फोहोरमध्ये औषतमा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर ल्यान्डफिल साइटमा पुग्छ । योबाहेक संकलन हुन नसकेको फोहोरको मात्रा पनि उच्च छ । तर, त्यसको तथ्यांक नै छैन । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाले पनि त्यहीँ फोहोर विसर्जन गरिरहेका छन् ।
महामारी फैलिएपछि महानगरले संक्रमित क्षेत्रबाट ल्याएको फोहोर फाल्न नदिने जनाएको थियो । अहिले सिसडोल क्षेत्रमा दैनिक निसंक्रमण गरिँदै आएको छ । फोहोर विसर्जन केन्द्र आसपासमा महामारी फैलिन सक्ने भएकाले सम्भावित जोखिमलाई कम गर्न दैनिक एउटा ट्यांकर पठाएर त्यस क्षेत्रमा निसंक्रमण गर्ने कार्य भइरहेको महानगरको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।