अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइटहाउस प्रवेशको सुनिश्चितता बढाउँदै लगेका छन् ।
कुल पाँच सय ३८ इलेक्टोरल मतमध्ये दुई सय ७० इलेक्टोरल मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । बाइडेनले अहिलेसम्म दुई सय ६४ इलेक्टोरल मत प्राप्त गरिसकेका छन् भने बाँकी ६ मत उनले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्ने देखिएको छ ।
पूर्वउपराष्ट्रपति बाइडेनसँग प्रतिस्पर्धामा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म दुई सय १४ इलेक्टोरल मत मात्रै प्राप्त गरेका छन् । ट्रम्प धेरै पछाडि रहेकोले उनले जित्ने सम्भावना न्यून देखिएको छ । ट्रम्प दुई ठाउँमा मात्रै अगाडि देखिएका छन् ।
आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै वेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन् । अमेरिकाका कुल ५० राज्यमध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको छ।
अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिएकाले उनको जितको सम्भावना बढी देखिएको हो । अहिले मतगणना भइरहेकामध्ये पेन्सिल्भानिया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा वाइडेन अगाडि छन् ।
बाइडेनले अहिलेसम्म सात करोड दश लाख मत ल्याइसकेका छन् । यो मत राष्ट्रपतिको उम्मेदवारले पाएको अहिलेसम्मकै धेरै भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकामा नेपालको समयानुसार मंगलबार बेलुकादेखि सुरु भएको मतदान राति अबेर सम्पन्न भएको थियो भने बुधबार बिहानदेखि मतगणना सुरु भएको थियो ।
त्यसैगरी हुलाकमार्फत दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् । ती सबै मत गणना भएपछि मात्रै अन्तिम नतिजा घोषणा गरिनेछ ।
अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौँ मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलेक्टोरल कलेज अर्थात् निर्वाचकमण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसंख्याका आधारमा इलेक्टोरल मत तोकिएको छ ।
अमेरिकामा हरेक चार–चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथग्रहण गर्दै ह्वाइटहाउस प्रवेश गर्ने परम्परा रहेको छ ।
अमेरिकी राष्ट्रपतिको काम कारबाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई संसारभरबाट महत्वका साथ हेर्ने गरिएको छ ।