प्रधानमन्त्रीले अचानक एक गैरराजनीतिक कार्यक्रममा म राजीनामा दिन्नँ भन्नुभएको छ । उहाँले पार्टीभित्रबाट राजनीतिक दबाब महसुस गर्नुभएको हो कि के हो ?
राजीनामाको विषय आउन सक्छ भनेर पहिला नै उहाँले आफ्नो अथेन्टिक स्टेटमेन्ट दिनुभएको हो ।
प्रधानमन्त्रीले राजीनामाको प्रसंग जसरी उठाउनुभएको छ, यहीवेला नेकपामा ठूलो विवाद छ । प्रधानमन्त्रीको भनाइले नेकपा विवादलाई के असर गर्छ ?
अहिले प्रधानमन्त्री एक्सन लिने, अरू नेता रियाक्सन दिने अवस्था देखिन्छन् । उहाँको क्रियामा अरूको प्रतिक्रिया आउने स्थिति देखिन्छ । उहाँले आकलन गर्नुभएको होला, राजीनामाको कुरा उठ्न सक्छ भनेर । आफूलाई स्थायित्वको प्रतीक, अरूलाई चाहिँ अस्थायित्वको खेती गर्ने भन्ने अर्थमा उहाँले देखाउन खोजेको होला । विवादको कुरामा त अब विवाद बढ्न के बाँकी छ र ? उहाँले त आफ्नो लाइन क्लियर गरिसक्नुभयो । ‘म पाँच वर्षलाई बस्छु, मलाई चलाउन सक्दैनौँ, तिमीहरूले सक्छौ भने चलाइहेर’ भनेको हो । उहाँले अर्काे अध्यक्षसँग यो प्रस्टै भनिसक्नुभएको छ । उहाँ प्रधानमन्त्री पनि हुनुहुन्छ, पावर उहाँसँगै छ । पहलकदमी लिने ठाउँमा उहाँ हुनुहुन्छ । एक्सन लिने ठाउँमा उहाँ हुनुहुन्छ । अरूको त रियाक्सन मात्रै हो ।
बैठक बसेर अर्को पक्षले बहुमतले निर्णय गर्ने, जुन प्रधानमन्त्रीले संकेत पनि गर्नुभएको छ, यदि निर्णय हुने र प्रधानमन्त्रीले राजीनामा नदिने अवस्था भयो भने के हुन्छ ?
पार्टीमा निर्णय गर्ने भनेको पार्टीको निर्णयलाई मान्नु भन्ने हो । राजीनामा गर भन्ने कुरा पार्टीले निर्णय गरेर संविधानले मान्दैन । कि त पार्टीले कारबाही नै गर्नुपर्यो । पार्टीको साधारण सदस्यबाटै हटाउने आँट गर्नुपर्यो । नभए संसदीय दलमा बहुमत ल्याएर फ्याँक्नुपर्यो । पार्टीले गर्न सक्ने संसदीय दलको माध्यमबाट हो । प्रधानमन्त्रीका लागि औपचारिक रूपमा निर्णय गरेको त संसदीय दलले हो । संविधानअनुसार त संसदीय दलको बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ । प्रधानमन्त्रीलाई हटाउने हो भने पार्टीले निर्णय गरेर मात्रै पुगेन । संसदीय दलमा पनि बहुमत ल्याएर हटाउनुपर्यो । म नै पार्टी हुँ, म नै सरकार हुँ, मैले जे पनि गर्न सक्छु, अरूले मलाई चलाउन सक्दैनन् भन्ने खालको उहाँको अभिव्यक्ति हो यो त ।
अब नेकपामा विवाद व्यवस्थापनको विकल्प के होला ?
व्यवस्थापन भनेको उहाँलाई छाडिदिने । अहिले हेर्दा त त्यही देखियो । उहाँलाई उहाँको इच्छाअनुसार काम गर्न छाडिदिने । पार्टीले कि त महाधिवेशनको तयारी गर्नुपर्यो । उहाँसँग सम्बन्धित विषयमा पार्टीले निर्णय गर्यो भने पो उहाँ रिसाउने हो । उहाँले नमान्ने भनेको त उहाँको हितविपरीत जाँदा हो । उहाँको सरकार सञ्चालन गर्ने काम छ त्यसमा हस्तक्षेप नगरीकन अरू काम गरेर जानुपर्ने भयो पार्टीले । उहाँलाई छाडिदिने । कि त पार्टीमा मात्रै होइन, संसदीय दलमा समेत बहुमत ल्याएर उहाँलाई अपदस्थ गर्नुपर्यो, कि उहाँसँग कम्प्रोमाइज गरेर जानुपर्यो ।