पर्यटक आउने मुख्य सिजन चलिरहँदा सुरु भएको लकडाउनपछि दोलखाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोक क्षेत्रका होटेलहरू सुनसान छन् । बीचमा जिल्लाभित्रकै आन्तरिक पर्यटकको सामान्य चहलपहल हुन लागेको सो क्षेत्रमा शक्तिपीठहरू बन्द गर्ने सरकारको पछिल्लो निर्णयले कालिञ्चोकका होटेलहरू सुनसान बनेका हुन् ।
८ महिनादेखि कालिञ्चोक क्षेत्र सुनसान भएपछि कुरी उपत्यका र आसपासमा करोडाैँ लगानीमा बनेका सुविधासम्पन्न होटेलहरू सुनसान बनेका छन् । लकडाउन खुलेपछि दैनिक केही पर्यटकहरू कालिञ्चोक मन्दिर पुग्ने गरेका थिए । कालिञ्चोक मन्दिरको प्रवेशद्वार कुरीका सुविधासम्पन्न होटेलहरूमा थोरै चहलपहल सुरु भएको थियो । तर, १ कात्तिकदेखि विभिन्न धार्मिक मन्दिर र शक्तिपीठहरू बन्द गर्ने सरकारको निर्णयका कारण करोडौँको लगानीमा निर्माण भएका कुरीका सुविधासम्पन्न होटेलहरू संकटमा परेको दिकी होटेलका सञ्चालक राम तामाङले दुखेसो गरे ।
लकडाउनभन्दा केही समयअघि मात्र करोडौँ लगानी गरेर होटेल सञ्चालन गरेको, तर लगत्तै आएको समस्याले ठूलो आर्थिक संकट परेको हिलसाइड रिसोर्टका सञ्चालक च्याङा शेर्पाको गुनासो छ । कालिञ्चोक मन्दिरमा हरेक हप्ताको शनिबार र मंगलबार तथा जनैपूर्णिमा, बडादसैँजस्ता चाडपर्वहरूमा ठूलो संख्यामा धार्मिक पर्यटकहरू पुग्ने गर्छन् ।
कात्तिक १ गते घटस्थापनाको दिन धेरै संख्यामा पर्यटक पुग्ने अनुमान गरिएकोमा सोही दिनदेखि सरकारले मठमन्दिर तथा शक्तिपीठहरू बन्द गर्ने निर्णय गरेकाले कुरीका होटेल व्यवसायीहरू मर्कामा परेको होटेल दिकीका सञ्चालक राम तामाङले जानकारी दिए । गत वर्षहरूमा दसँैको घटस्थापनादेखि पूर्णिमासम्म बीसाैँ हजार पर्यटक कालिञ्चोक मन्दिर पुग्ने गरेका थिए । यसपटक कोरोना महामारी भए पनि मन्दिर दर्शनमा रोक नलगाइएको भए दसँैको अवधिभर ५–७ हजार पर्यटक पुग्ने अनुमान गरिएको होटेल व्यवसायीहरूको भनाइ छ । शक्तिपीठहरू बन्द गर्ने निर्णयले कालिञ्चोक मन्दिरसँगै त्यहाँ सञ्चालनमा रहेको केबलकारसमेत बन्द गरिएको छ ।
५० भन्दा धेरै सुविधासम्पन्न होटेल
कालिञ्चोकको कुरीमा करोडभन्दा बढी लगानीका ५० भन्दा बढी सुविधासम्पन्न होटेलहरू रहेका छन् । कोरोना महामारीअघि हिमपातको समय र विभिन्न चाडपर्वहरूको अवधिमा कालिञ्चोक पुग्ने पर्यटकले कुरीका सबै होटेलहरू भरिने गर्थे । कोरोनापछि पर्यटक आगमनले गति लिन खोजेकै वेला फेरि मन्दिर प्रवेशमा रोक लगाइएकाले समस्या थपिएको व्यवसायीहरूको गुनासो छ ।
‘शक्तिपीठहरू खुला गर्ने आदेश छैन’
दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश सिवाकोटीले मठमन्दिर तथा शक्तिपीठहरू खुला गर्ने आदेश नभएको बताए । उनले गृह मन्त्रालयको निर्देशनअनुसार मुख्य चाडपर्वको समयमा भिडभाड बढ्ने र कोभिड संक्रमण फैलिन सक्ने भन्दै मठमन्दिरहरू बन्द गरिएको प्रतिक्रिया दिए ।