वामदेवलाई राष्ट्रपतिले भनिन्- पार्टी एकता जोगाउन विगतमा जस्तै तपाईंको भूमिका रहोस्

वामदेवको जवाफ : म मात्रै होइन, हामी सबै एकता जोगाउनेगरी विधि–पद्दति स्थापित गर्न लागेका छौँ

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चिन्ता र चासो व्यक्त गरेकी छिन् । मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउने काममा विगतमा जस्तै भूमिका खेल्न आग्रह गरेकी छिन् ।

‘भेटमा राष्ट्रपतिज्यूले पार्टी एकताप्रति चिन्ता जनाउँदै पार्टी एकता नटुटोस्, एकता जोगाउन तपाईंले पहिले पनि भूमिका खेल्नुभो, अब पनि तपाईंबाट त्यस्तै भूमिकाको अपेक्षा छ भन्ने सुझाब दिनुभएको छ,’ गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले नयाँ पत्रिकासँग भने, ‘म पार्टी एकता जोगाउनै लागिरहेको छु ।  प्रचण्ड, माधव, झलनाथ कमरेड हामी सबै एकता जोगाउने, विधि र पद्धति स्थापित गर्ने कुरामै लागेका छौँ ।’

नेकपाभित्रको पछिल्लो विवाद फेरि उत्कर्षतिर पुगेका वेला राष्ट्रपतिले गौतमलाई बोलाएर दिएको सुझाबलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको छ ।

सुझावित समाचार