अमेरिकी राष्ट्रपतिको निर्वाचनको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणका परिणामहरू राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्ने आइरहेका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही ३ नोभेम्बर अर्थात् मंगलबार हुँदै छ ।
पछिल्ला अधिकांश मत सर्वेक्षणहरूले जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १० प्रतिशतले अग्रता बनाइरहेको देखाएका छन् । एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ । एनबिसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा १० प्रतिशत अग्रता बनाए पनि चुनावी परिणामबारे यसै भन्न नसकिने बताएका छन् ।
चुनावअघिको मत सर्वेक्षणमा बाइडेनले ट्रम्पभन्दा ६ प्रतिशत बिन्दुले मात्र अग्रता बनाइराखेको देखाएका थिए । चुनावी नतिजालाई फेरबदल गर्न सक्ने मुख्य राज्यहरूमा एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यु ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन रहेका छन् ।
गत २९ देखि ३१ अक्टोबरसम्मको मतसर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर, अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झन्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् ।
चुनावी नतिजा उलटफेर गर्न सक्ने ‘ब्याटलग्राउन्ड’ नाम दिइएका केही राज्यहरूमा मतदाताालाई आफूतिर तान्न राष्ट्रपतिका दुवै आकांक्षीले अन्तिम चुनावी सभा गरिरहेका छन् । अमेरिकी चुनाव परियोजनाका अनुसार आइतबार दिउँसोसम्ममा नौ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कुल मतको झन्डै ६८ प्रतिशत हो ।