टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जानेको संख्या ७६ पुगेको छ । यहाँका अधिकारीहरूले सोमबार जानकारी दिएअनुसार भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । 

सो भूकम्पको सम्पूर्ण क्षतिको विवरण भने अझै प्राप्त हुन सकेको छैन । अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी रहेको बताइएको छ । टर्कीको इज्मिर सहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यस सहरमा अहिले पनि खोजी तथा उद्धार जारी रहेको जनाइएको छ ।

भूकम्पबाट ९६२ जना नागरिक घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपत् व्यवस्थापन कार्यालयले जनाएको छ । विभागका अनुसार ती घाइतेमध्ये २ सय १९ जना अहिले पनि उपचाररत छन् भने अरू अस्पतालबाट डिस्चार्ज भएको विभागका अधिकारीहरूले जानकारी गराएका छन् ।

भूकम्पपछि एक हजारभन्दा बढी परकम्प महसुस गरिएको थियो । तीमध्ये ४३ परकम्प ४ म्याग्निच्युडभन्दा माथिका रहेका र स्थानीयले महसुस गरेका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत सम्बाेधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुगेको जानकारी सोमबार दिएका हुन् । उनले खोजी तथा उद्धार भइरहेको र सबैजना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरेका छन् । 

उद्धार जारी रहेको र हाल हजारौँ नागरिक टेन्टमा बसेका  छन् । जसका कारण ठूलो संख्यामा सहयोगको आवश्यकता रहेको पनि अधिकारीहरूले जनाएका छन् ।
 

सुझावित समाचार