कोरोना संक्रमणबाट चाडपर्वलाई सुरक्षित बनाउने भन्दै मोरङ प्रशासनले दुई हप्ता लामो निषेधाज्ञा जारी गरेको छ ।
दसैँको समयमा मठ, मन्दिर, सार्वजनिक समारोह र उत्सवहरूमा हुने भिड नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले दसैँ अवधिभर पूरै अर्थात् ३ देखि १५ कात्तिकसम्म निषेधाज्ञा जारी गरेको हो ।
चाडबाडको समयमा कोरोना संक्रमण हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
जारी निषेधाज्ञाअनुसार १५ कात्तिकसम्म साँझ ८ देखि बिहान ५ बजेसम्म लामो दूरीबाहेकका सवारी आवतजावत गर्न पाउने छैनन् ।
मन्दिर, मठ, मस्जिद, चर्च आदि सबैखाले धार्मिक केन्द्रहरूमा आन्तरिक रूपमा मात्र पूजा र प्रार्थना गर्नुपर्ने प्रशासनले जनाएको छ ।
चाडबाडका लागि भौतिक रूपमा शुभकामना र चियापान कार्यक्रम र उत्सवहरू आयोजना गर्न पाइने छैन ।