निको भएका बिरामी आइसियूबाट साधारण बेडमा सारियो, तर बिरामी अझै बन्धक

नयाँ पत्रिका फलोअप

शनिबार, २३ असोज, २०७७
डिजिटल संस्करण
निको भएका बिरामी आइसियूबाट साधारण बेडमा सारियो, तर बिरामी अझै बन्धक

मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङ (३४ वर्ष) उपचार खर्च तिर्न नसक्दा चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा बन्धक

उपचार खर्च तिर्न नसक्दा बन्धक बनाएर राखेका बिरामीलाई चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले आइसियूबाट साधारण बेडमा सारेको छ । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि कलेजले शुक्रबार साधारण बेडमा सारेको हो । 

मकवानपुरको भीमफेदी गाउँपालिका– ९ का ३४ वर्षीय राजु थिङ उपचारपछि निको भइसकेका छन् । तर, उनले उपचारमा लागेको चार लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालले बन्धक बनाएर राखेको छ । उनलाई निको हुँदा पनि आइसियूमै राखेको थियो । शुक्रबार उनलाई आइसियूबाट साधारण बेडमा सारिएको उनकी पत्नी संगीताले बताइन् । ‘आइसियू महँगो थियो, साधारण बेडमा आएपछि केही राहत भएको छ,’ संगीताले नयाँ पत्रिकासँग भनिन् । 

साधारण बेडमा सारेपछि अस्पतालले पैसा तिरेर बिरामी घर लैजान भनेको उनले बताइन् । ‘सबै पैसा सकियो । ऋणदान गर्न पनि बिरामीलाई एक्लै छोड्न मिलेन । अब कसरी पैसा खोज्ने होला,’ संगीताले भनिन् । 

राजुका बुबा लालबहादुर ऋण खोज्न गाउँ गएका छन् । यसअघि चारवटा खसी बेचेर पैसा ल्याएका थिए । अहिले ऋण पनि नपाएको संगीताले बताइन् । जग्गा धितो राखेर ऋण लिन खोजे पनि नपाइएको उनले बताइन् । ऐलानी जग्गा भएकाले धितो राख्न पनि नसकिएको उनको भनाइ छ । 

समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय, चितवनले पनि चासो दिएको छ । यस विषयमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न प्रशासन कार्यालयले अस्पताललाई निर्देशन दिएको छ । ‘विपन्न परिवार हो कि होइन, बुझी त्यस ढंगबाट बिरामीलाई सहज रूपमा उपचारको व्यवस्था गर्न निर्देशन दिएका छौँ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ।

अस्पतालका अध्यक्ष तथा प्रबन्ध–निर्देशक डा. हरिश्चन्द्र न्यौपानेले एक रुपैयाँ पनि छुट नदिने बताएका छन् । उनले सरकारको नियमभित्रै बसेर उपचारबापत शुल्क लिएको जनाउँदै निःशुल्क उपचार गर्न नसक्ने बताएका छन् । 

यो पनि पढ्नुहोस् >>>

निको भइसकेका बिरामी आइसियूमा बन्धक, बिल बढेको बढ्यै

उपचार खर्च तिर्न नसक्दा चितवन मेडिकल कलेजकाे आइसियूमै बिरामी बन्धक

सुझावित समाचार