निको भइसकेका बिरामी आइसियूमा बन्धक, बिल बढेको बढ्यै

नयाँ पत्रिका फलोअप

शुक्रबार, २२ असोज, २०७७
डिजिटल संस्करण
निको भइसकेका बिरामी आइसियूमा बन्धक, बिल बढेको बढ्यै

मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङ (३४ वर्ष) उपचार खर्च तिर्न नसक्दा चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)काे आइसियूमै बन्धक

पैसा नतिरेको भन्दै मेडिकल आइसियूबाट साधारण बेडमा नसारेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) प्रशासनले बिरामी र उनको परिवारलाई बिहीबार नयाँ पत्रिकामा समाचार सार्वजनिक भएसँगै अनावश्यक प्रश्नसहित गालीगलौज गरेको छ ।

यो समाचार तयार पार्दासम्म पनि मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङ (३४ वर्ष) उपचार खर्च तिर्न नसक्दा आइसियूमै छन् । राजुकी श्रीमती संगीताका अनुसार औषधि र उपचार खर्च गरी चार लाख रुपैयाँभन्दा बढी अस्पताल र फार्मेसीलाई तिर्न बाँकी छ । आइसियूबाट साधारण बेडमा नसारिदिँदा आइसियूकै बिल बढेको बढ्यै छ । अस्पताल प्रशासनले सर्कुलर जारी गरेर अस्पतालबाहिरका पनि फार्मेसीहरूलाई राजु र उनको परिवारलाई उधारो औषधि नदिन आग्रह गरेको छ ।

राजु हेटौँडास्थित लोकप्रिय होटेलमा कुक थिए । लकडाउनका कारण होटेल बन्द भएपछि उनीहरू घर फर्किए । घरनजिक खोलामा माछा मार्न जाँदा उनी लडेका थिए । भदौ अन्तिममा अचानक बेहोस भएपछि । हेटौँडाका अस्पतालमा उपचार नभएपछि उनलाई सिएमसीमा ल्याइएको थियो । बेडमा सुत्दा सुत्दा राजुको ढाडमा घाउ भएको छ । खुट्टा सुन्निएका छन् ।

उनका बुबा लालबहादुर थिङ पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन् । लालबहादुर पनि भूकम्पमा परी अपांग बनेका छन् । छोराको उपचारका लागि उनले दसैँमा बिक्री गर्न भनी साँचेका चारवटा खसी बेचे । त्यसमा थपेर केही दिनअघि अस्पतालमा ३० हजार रुपैयाँ बुझाए । तरकारी खेती गर्ने लालबहादुरको यसपटक लकडाउनले त्यो आम्दानी पनि गुम्यो ।

उनी जग्गा धितो राखेर भए पनि छोरालाई अस्पतालबाट निकाल्ने सोचमा छन् । यस विषयमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न जिल्ला प्रशासन कार्यालय, चितवनले अस्पताल र परिवारलाई निर्देशन दिएको छ । ‘विपन्न परिवार हो कि होइन बुझी त्यस ढंगबाट बिरामीलाई सहज रूपमा उपचारको व्यवस्था गर्न निर्देशन दिएका छौँ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ।

सिएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश्चन्द्र न्यौपाने भने बिरामीलाई एक रुपैयाँ पनि छुट नदिइने बताउँछन् । सरकारको नियमभित्रै बसेर उपचारबापत शुल्क लिएको उनको भनाइ छ ।

सुझावित समाचार