१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङ (३४ वर्ष) उपचार खर्च तिर्न नसक्दा चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)काे आइसियूमै बन्धक
२o८१ जेठ ५ शनिबार o५:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निको भइसकेका बिरामी आइसियूमा बन्धक, बिल बढेको बढ्यै

नयाँ पत्रिका फलोअप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o५:२१:oo

पैसा नतिरेको भन्दै मेडिकल आइसियूबाट साधारण बेडमा नसारेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) प्रशासनले बिरामी र उनको परिवारलाई बिहीबार नयाँ पत्रिकामा समाचार सार्वजनिक भएसँगै अनावश्यक प्रश्नसहित गालीगलौज गरेको छ ।

यो समाचार तयार पार्दासम्म पनि मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङ (३४ वर्ष) उपचार खर्च तिर्न नसक्दा आइसियूमै छन् । राजुकी श्रीमती संगीताका अनुसार औषधि र उपचार खर्च गरी चार लाख रुपैयाँभन्दा बढी अस्पताल र फार्मेसीलाई तिर्न बाँकी छ । आइसियूबाट साधारण बेडमा नसारिदिँदा आइसियूकै बिल बढेको बढ्यै छ । अस्पताल प्रशासनले सर्कुलर जारी गरेर अस्पतालबाहिरका पनि फार्मेसीहरूलाई राजु र उनको परिवारलाई उधारो औषधि नदिन आग्रह गरेको छ ।

राजु हेटौँडास्थित लोकप्रिय होटेलमा कुक थिए । लकडाउनका कारण होटेल बन्द भएपछि उनीहरू घर फर्किए । घरनजिक खोलामा माछा मार्न जाँदा उनी लडेका थिए । भदौ अन्तिममा अचानक बेहोस भएपछि । हेटौँडाका अस्पतालमा उपचार नभएपछि उनलाई सिएमसीमा ल्याइएको थियो । बेडमा सुत्दा सुत्दा राजुको ढाडमा घाउ भएको छ । खुट्टा सुन्निएका छन् ।

उनका बुबा लालबहादुर थिङ पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन् । लालबहादुर पनि भूकम्पमा परी अपांग बनेका छन् । छोराको उपचारका लागि उनले दसैँमा बिक्री गर्न भनी साँचेका चारवटा खसी बेचे । त्यसमा थपेर केही दिनअघि अस्पतालमा ३० हजार रुपैयाँ बुझाए । तरकारी खेती गर्ने लालबहादुरको यसपटक लकडाउनले त्यो आम्दानी पनि गुम्यो ।

उनी जग्गा धितो राखेर भए पनि छोरालाई अस्पतालबाट निकाल्ने सोचमा छन् । यस विषयमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न जिल्ला प्रशासन कार्यालय, चितवनले अस्पताल र परिवारलाई निर्देशन दिएको छ । ‘विपन्न परिवार हो कि होइन बुझी त्यस ढंगबाट बिरामीलाई सहज रूपमा उपचारको व्यवस्था गर्न निर्देशन दिएका छौँ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ।

सिएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश्चन्द्र न्यौपाने भने बिरामीलाई एक रुपैयाँ पनि छुट नदिइने बताउँछन् । सरकारको नियमभित्रै बसेर उपचारबापत शुल्क लिएको उनको भनाइ छ ।

ad
ad