रसायनशास्त्रको नोबल पुरस्कार दुई महिला वैज्ञानिकलाई

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

सन् २०२० को रसायनशास्त्रतर्फको नोबल पुरस्कार दुई महिला वैज्ञानिकले पाउने भएका छन् । फ्रान्सेलीमूलकी इमानुएल चापर्नटिए र अमेरिकी जेनिफ डौडनालाई रसायनशास्त्रतर्फको पुरस्कार प्रदान गर्ने निर्णय भएको नोबल पुरस्कार कमिटीले जनाएको छ । इमानुएल र जेनिफले आठ लाख ६१ हजार दुई सय पाउन्ड पुरस्कार पाउनेछन् । 

दुई वैज्ञानिकले जेनेटिक सिजर (डिएनए) निकाल्न अहं भूमिका निर्वाह गरेका छन् । यो आविष्कारलाई विज्ञान क्षेत्रमा ‘क्रिस्पर कास ९’ नाम दिइएको छ । उनीहरूले पत्ता लगाएको जेनेटिकले जनावर र बोटबिरुवाको माइक्रोअर्गानिजमबाट डिएनए परिवर्तन गरी गम्भीर रोगको उपचार गर्न सकिन्छ ।

इमानुएल र जेनिफले जिन टेक्नोलोजीमा क्रिस्पर/कास ९ को विकास गरेका हुन् । यसलाई सिर्जर नाम दिइएको छ । इमानुएल बर्लिनको म्याक्स प्लांक युनिट फर साइन्समा निर्देशक र जेनिफ क्यालिफोर्निया विश्वविद्यालयमा कार्यरत छिन् । इमानुएलले नोबल पुरस्कार घोषणा हुँदा आफूलाई विश्वास नलागेको बताएकी छिन् । ‘जब यो घटना हुन्छ, त्यसवेला पत्याउन नै गाह्रो पर्छ, झुटोजस्तो पनि लाग्छ तर यो सत्य हो, अहिले मैले नोबल पुरस्कार पाउने भएकी छु,’ इमानुएलले भनिन् । 

आफूहरूको कामबाट युवा वैज्ञानिकलाई प्रेरणा मिल्ने उनी बताउँछिन् । भन्छिन्, ‘हामी दुई महिलाको सफलताले युवा पुस्ता र महिला वैज्ञानिक उत्साहित हुनुपर्छ, उनीहरूलाई पनि सकारात्मक सोच बनाउन मद्दत मिलोस् भन्ने कामना गर्छु, हामीले केवल विज्ञानको फलो मात्र गरेका थियौँ ।’ सन् १९०१ देखि २०११ सम्म रसायनशास्त्रमा एक सय ११ जना वैज्ञानिकलाई नोबल पुरस्कार दिएको छ । इतिहासमा अहिलेसम्म पाँच महिलाले मात्र रसायनशास्त्रमा पुरस्कार जितेका छिन् । 

सुझावित समाचार