उपचार खर्च तिर्न नसकेपछि ह्याम्स अस्पतालले थुनेर राख्यो बिरामी

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

रिपोर्ट  : सागर चन्द
तस्बिर : दीपेन्द्र ढुंगाना

ह्याम्स अस्पतालको नवौँ तला, बेड नम्बर ९०९ । चन्द्रबहादुर तामाङ यो बेडमा सुतेको दुई महिना भयो । डाक्टरहरूले ‘निको भइसक्यो, घर जानुहोस्’ भन्दा पनि तामाङलाई अस्पतालले बन्दी बनाएर राखेको छ ।

‘निको भइसक्यो घर जाऊ भनेको १५-२० दिन भयो,’ बसिरहेको बेडबाट उठ्दै तामाङ भन्छन्, ‘तर, मलाई यो कोठाबाट बाहिर पनि निस्कन दिएका छैनन् ।’ उपचार खर्च तिर्न नसकेकै कारण अस्पतालले उनलाई बन्दी बनाएर राखेको हो ।

धादिङ गल्छी गाउँपालिका–४ का तामाङ लकडाउनअगाडिसम्म धादिङबाट रुसुवागढीसम्म ट्रक चलाउँथे । लकडाउनले नाका बन्द भएपछि तामाङको काम रोकियो । बुबा, आमा र दुई बहिनीसहित पाँचजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी भएका तामाङको रोजगारी खोसियो ।

साथीहरूसँग हारगुहार गरेपछि उनले दोलखास्थित ‘सासा’ हाइड्रोपावर कम्पनीमा काम पाए । लकडाउनमा पनि काम पाइयो भनेर खुसी भएर तामाङ जेठमा दोलखा गए । २५ साउनमा हाइड्रोपावरको सुरुङ खन्ने काम चलिरहेको थियो । सुरुङभित्र रहेका तामाङको टाउकोमा अचानक ढुंगो बज्रियो । उनी बेहोस भए । टाउको र मुखमा चोट लाग्यो ।

हेलिकोप्टरबाट उद्धार गरेर उनलाई त्यही दिन राजधानीमा रहेको ह्याम्स अस्पताल ल्याइयो । ११ दिन आइसियूमा राखेपछि उनको होस आयो । त्यसपछि वार्डमा सारेर उनको उपचार भयो । स्वास्थ्य अवस्था पनि सामान्य भयो । तर, उपचारमा लागेको नौ लाख ९० हजार रुपैयाँ तिर्न नसक्दा उनी अस्पतालमा बन्दी बन्नुप¥यो ।

‘परिवार सबै ज्यालामजदुरी गर्छन्,’ तामाङको हेरचाह गर्न आएकी छिमेकी बिना लामा भन्छिन्, ‘१० लाख त हामी कसरी तिर्न सक्छौँ ?’

कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको छँदै गाडी चलाउन थालेका तामाङ भन्छन्, ‘आफैँ तिर्न सक्ने भए त यसरी कैदी बनेर किन बस्नुपथ्र्यो र ?’ ६ कक्षासम्म पढेका तामाङले सवारीसाधन चलाएरै परिवार पालिरहेका थिए । बहिनीलाई स्कुल पनि पढाइरहेका थिए । दुर्घटनामा परेर अस्पताल भर्ना भएपछि उनको तलब पनि रोकिएको छ ।

‘म यहाँ बन्दी भएको छु, उता परिवार भोकै पर्न थालिसक्यो,’ अस्पतालको बेडमा पल्टिएका तामाङले भने । सुरुङमा ढुंगा खस्दा उनको टाउको र मुखमा चोट लागेको थियो । चोटको दाग अझै पनि उनको मुखमा देखिन्छ ।

अस्पतालले उनलाई पैसा छिटो तिरेर बेड खाली गर्न बारम्बार निर्देशन दिएको छ । १० लाख होइन, उनी १० रुपैयाँ तिर्न सक्ने अवस्थामा छैनन् । ‘जहिल्यै बेड खाली गर भन्छन् । पैसा छिटो तिरेर जाऊ भन्छन् । हामीसँग सुको पैसा छैन, अस्पतालमै थुनेर राखेका छन्,’ तामाङले भने ।

तामाङलाई काममा लगाउने ठेकेदार अस्पतालमा ९० हजार रुपैयाँ धरौटी राखेर सम्पर्कविहीन भएका छन् । ‘ठेकेदारसँग एकपटक कुरा भएको थियो । ९० हजार धरौटी राखेको छु भन्छ,’ उनले भने ।

उपचार खर्च तिर्न घरजग्गा बच्ने उपाय पनि उनीसँग छैन । किनकि, बेचेर त्यति धेरै रकम तिर्न सक्ने घरजग्गा नै छैन । ‘मलाई कसैले हेरेनन् । अब त अस्पतालमै मर्छुजस्तो भइसक्यो,’ उनले भने ।

परिवारको एक मात्र कमाउने मान्छे उपचार खर्च तिर्न नसकेर बन्दी हुनु परेपछि तामाङको परिवार नै संकटमा परेको छ । ‘मैले नहेरे त कसैले हेर्दैनन् । आमाबुबा वृद्ध हुनुहुन्छ । बहिनी सानै छिन् । सबैलाई मैले नै हेर्ने हो, काम गर्न हिँडेको मेरो हालत यस्तो भयो,’ उनी सुनाउँछन् ।

काठमाडौंमा खान–बस्न सकिँदैन भनेरै तामाङका बुबाआमा अस्पतालसम्म पनि आउन सकेका छैनन् । अहिले उनको हेरचाह छिमेकी दिदीले गरिरहेकी छन् ।

सुझावित समाचार