चन्दननाथ मन्दिरबाट चोरी भएको पाँच वर्षपछि थप दुई मूर्ति फेला

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशको जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्षअघि चोरी भएका बहुमूल्य मूर्तिहरूमध्ये थप दुई पुरातात्विक मूर्ति भेटिएका छन् । 

११ मंसिर ०७३ मा मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो । 

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान १०ः१५ बजे चन्दननाथ नगरपालिका– १० बोहोरा गाउँस्थित सुशील विष्टको खेतको आलीमा सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा मूर्ति भेटिएको डिएसपी माधव काफ्लेले बताए ।

उनका अनुसार दुई थान मूर्तिसँगै उक्त घटनामा संग्लन तीनजना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ । 

प्रहरीले चन्दननाथ नगरपालिका– १० का ३२ वर्षीय सुशील विष्ट, तातोपानी गाउँपालिका– ८ घर भई हाल चन्दननाथ नगरपालिका– १० मा बस्ने २८ वर्षीय जयलाल थापा र चन्दननाथ नगरपालिका– १० कै २३ वर्षीय सुदीप रावललाई पक्राउ गरेको हो ।

पाँच वर्ष पहिले चोरी भएका दर्जनौँ मूर्तिमध्ये हालसम्म विभिन्न स्थानबाट करिब २० वटा मूर्ति भेटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथका बहुमूल्य ऐतिहासिक मूर्ति चोरीमा संग्लन सबैलाई कानुनी दायरामा ल्याउन प्रहरी हरप्रयासमा जुटिरहेको बताए । 

उनले विशेष सूचनाका आधारमा शंकास्पद तीन व्यक्तिसहित दुई थान मूर्ति भेट्टाउनु प्रहरीको ठूलो उपलब्धि भएको बताए ।

सुझावित समाचार