डुम्रे-बेसीसहर सडकखण्डछेउको एउटा पेटीमा चामल, दाललगायत अन्य खाद्यान्नका पोकाहरू राखिएका छन्। खानेकुराको खातसँगै टाँसिएको फ्लेक्सबोर्डमा लेखिएको छ, ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ ।’
काेराेनाका कारण राेजगारी गुमेर हातमुख जाेर्न समस्यामा परेका परिवारलाई लक्षित गरी बेसीसहर– २ का स्थानीय १९ वर्षीय अन्सुल लोहनीको सक्रियतामा युवाहरूले फुड बैंक अर्थात् खाद्यान्न संकलन तथा वितरण केन्द्र स्थापना गरेका हुन् ।
धादिङ घर भई बेसीसहर– २ गैरीमा बस्दै आएकी पेमा तामाङ निःशुल्क दालचामल पाउँदा दंग परिन् । उनले भनिन्, ‘महिनौँदेखि चुलो नबलेका हामीजस्तालाई ठूलो राहत भयो नि हजुर ।’
कोरोना महामारी अनि लकडाउनले गर्दा महिनौँदेखि बेरोजगार र बेखर्ची भएको उनी बताउँछिन् । उनकाे चारजनाको परिवार छ । मजदुरी गर्ने श्रीमानकाे कोरोनाका कारण रोजगारी गुम्यो । छोराछोरीलाई दुईछाक खुवाउन पनि समस्या भयो । कोरोना संक्रमण तथा लकडाउनका कारण हातमुख जोर्न सकस भएका पेमाजस्ता थुप्रै मजदुर फुड बैंकबाट लाभान्वित भएका छन्।
भोकभोकै बस्नुपर्ने बाध्यता यो अभियानले अन्त्य गरिदिएको छ । फुड बैंकमा आउनुअघि पेमा कति दिन भोकै बस्नुपरेको पीडा सुनाउँछिन् । पेमासँगै फुड बैंकमा राहत लिन पुगेकी सुकमाया सेढाईं पनि खुसी देखिन्छिन्। उनी भन्छिन्, ‘हामीजस्ताको पेटको पीडा बुझ्ने मानिस पनि हुँदा रहेछन् । नत्र हामी भोकभोकै मर्नुपर्ने थियो ।’
दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउनेलाई राहत दिने उद्देश्यले बेसीसहर नगरपालिका– २ गैरी बजारमा स्थानीय युवाहरूको पहलमा पाँच दिनअघि फुड बैंक सञ्चालनमा ल्याइएको छ । अभियानमा अहिले जनप्रतिनिधि, स्थानीय र विदेशमा रहेका नागरिकले सहयोग गरेका छन् । हालसम्म फुड बैंकमा २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको अभियानका संयोजक अन्सुल लोहनीले बताए ।
लोहनीका अनुसार कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको फुड बैंकबाट चौथो दिन आइतबारसम्म आइपुग्दा ५८ जनाले खाद्यान्न सामग्री प्राप्त गरिसकेका छन् ।
फुड बैंकमा ५ केजी चामल, एक पोका तेल, एक पोका नुन, आधा केजी दाल, साबुन, मसला र बेसारलगायतका खाद्य सामग्री राखिएको छ ।
सामान दिन र लिन आउनेका लागि सुरक्षाका मापदण्ड अपनाइएको छ । राहत लिनुअघि स्यानिटाइज्ड गर्ने, सामाजिक दूरी कायम गर्ने र मास्कको व्यवस्था मिलाइएको छ । फुड बैंकसम्म आउन नसक्नेहरूका लागि भने सुरक्षित तवरले घरसम्म नै खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको छ ।
कोरोना महामारीका वेला युवाको सक्रियतामा भएको यो काम प्रशंसनीय रहेको बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । कोरोनाका कारण मारमा परेका विपन्न वर्गको समस्यालाई अनुभूति गर्दैै लोहनीसहित स्थानीय युवाहरू विवेक लोहनी र रवीन्द्र परियार यतिवेला कोरोनाका कारण रोजगार गुमाएर चुलो बाल्न नसकेका मजदुरको चुलो बाल्न व्यस्त छन् ।
बिहीबारदेखि सञ्चालनमा ल्याइएको फुड बैंकबाट हालसम्म समस्यामा परेका ५८ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको अन्सुल लोहनीले बताउँछन् ।