कोरोना कहरमा खेल : ब्याडमिन्टन खेलाडी अभ्यासमा फर्किए

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

आइतबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा ब्याडमिन्टन खेलाडीले अभ्यास थालेका छन् । 
लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । तर, पहिलो दिन खेलाडी कभर्डहलमा पस्दा हलको अवस्था भने दयनीय देखियो । 

एकातिर कभर्डहलकाे मर्मतसम्भार काम भइरहेको थियो भने अर्कोतिर खेलाडी आफैँ सरसफाइमा जुट्दा अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) भने यसबारे बेखबर थियो । 

कोरोना भाइरस (कोभिड–१९)को असरबाट ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन सकेको छैन । 

गत साताबाट सरकारले निषेधाज्ञा हटाएपछि अन्य क्षेत्रजस्तै खेलकुद पनि फर्किने सोचमा छ । ब्याडमिन्टनका केही खेलाडी आइतबार बिहानै कभर्डहलमा उपस्थित थिए । 

प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए । कोरोना भाइरसका कारण कोर्टबाहिर रहेका खेलाडीमा उमंग छुट्टै  देखिन्थ्यो । तर, कभर्ड हलभित्र पस्दा वातावरण भने निकै फरक थियो । 

खेलाडीहरू बाल्टिनमा पानी, हातमा झाडु र ब्रसले परेवाले  बिस्ट्याएकाे फोहोर सफा गर्न व्यस्त थिए ।

थला परेको खेलकुद फर्किनु अहिलेको आवश्यकता हो । खेलाडी अभ्यासमा फर्किन पाउनु पनि सकारात्मक विषय हो । नेपाल ब्याडमिन्टन संघमा आबद्ध खेलाडीहरूले पनि अभ्यासमा फर्कन पाउँदा खुसी व्यक्त गरेका छन् । 

दुई घन्टा लामो सरसफाइपछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य अभ्यास गराए ।

तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताए । 
प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए ।

सुझावित समाचार