जसपा अध्यक्ष यादवको दाबी–काण्डैकाण्डमा फसेको सरकारले देशलाई धराशायी बनायो

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको आरोप लगाएका छन् । राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा धराशायी बनाउँदै लगेको आरोप लगाएका हुन् । 

कम्युनिस्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा मात्रै नभएर आफू पनि राजनीतिक रूपमा धराशायी बन्दै गएको उनको दाबी छ । उनले भने, ‘कम्युनिस्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरूमा कम्युनिस्टहरूले मुलुकलाई धराशायी पारे र आफू पनि त्यसरी नै धराशायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचारका काण्डैकाण्डमा सरकार फसेको छ । यत्तिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’

यादवले अहिलेको सरकार र कम्युनिस्ट पार्टीबाट मुलुकको कुनै समस्या समाधान हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको औँल्याए । जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उनको तर्क छ । लोक समाजवाद (समाजवाद, संघीयता र लोकतन्त्र)को बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
 

सुझावित समाचार