अब हराएको लाइसेन्सको सिफारिस बनाउन ट्राफिक कार्यालय जान नपर्ने

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका सवारी कागजातको सिफारिस अनलाइनबाटै दिन थालेको छ । कोरोनाका कारण कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गर्दा संक्रमणको जोखिम हुने र सेवाग्राहीको पनि समय खर्च हुने भएपछि महाशाखाले अनलाइनबाटै सेवा दिन थालेको हो ।

अब हराएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय जान नपर्ने महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । सेवाग्राहीले घरबाटै अनलाइन फारम भरेर महाशाखाबाट प्राप्त गर्ने सेवा लिन सक्ने भएका छन् । 

ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ महामारीको विषम परिस्थितिलाई पनि मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा अनलाइनबाटै सेवा प्रवाह थालेको एसएसपी ढकालले जानकारी दिए । महाशाखामा दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले हराएको सिफारिसका लागि आवेदन दिने गरेका थिए । अनलाइन प्रणाली सुरु भएसँगै सेवाग्राहीलाई पनि ट्राफिक कार्यालय गएर लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिने झन्झट हटेको छ । 

सिफारिस आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np  मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ लस्ट डकुमेन्टस एप्लिकेसन Lost Document Application मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । 

यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो त्यो सेलेक्ट गर्नुपर्नेछ । त्यसपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाइसेन्स वा पासपोर्टको फाइल वा स्क्यान कपी सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण सब्मिट (Submit) वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घन्टापछि सिफारिस प्राप्त गर्न वा लिन सक्नेछन् । यसका लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पूरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन् र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाइसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।

सुझावित समाचार