एकजना मानिस जीवनकालभर अविवाहित रहेका थिए । उनले यसको कारण कसैलाई बताएका थिएनन् ।
नब्बे वर्षको उमेरमा उनलाई रोगले च्याप्यो र परिवारजनले अस्पताल भर्ना गरे ।
चिकित्सकले परिवारजनलाई वृद्ध धेरै दिन बाँच्न नसक्ने बताए ।
एक दिन परिवारभित्रकै एक युवकले ती वृद्ध मानिसनजिक गएर सोधे, ‘तपाईं जीवनभर अविवाहित रहनुभयो । तपाईंले कहिल्यै पनि यसको कारण बताउनुभएन । अहिले जीवनको अन्तिम घडीमा त यसको कारणबारे हामीलाई बताउनुस् ।
तपाईंले विवाह नगर्नुको कारणमा कुनै रहस्य थियो कि ? तपाईंले बाँच्नुभएको लामो जीवनका विभिन्न घटना हामी युवाका लागि पाठ हुन सक्छ । यसमा पनि कुनै पाठ छ कि ?’ युवकको कुरा सुनेर ती वृद्धले भने, ‘म विवाहको विरोधी मान्छे होइन । तर, म जीवनभर एक पूर्ण युवतीको खोजीमा थिएँ । त्यस्ती युवतीको खोजमा मेरो सम्पूर्ण जीवन गुज्रियो ।’
प्रश्नकर्ता युवकले थप जिज्ञासु हुँदै भन्यो, ‘तर यति ठूलो दुनियाँमा अर्बौं मानिस बस्छन् । आधा त महिला छन् । तपाईंले कहिल्यै पनि कुनै पूर्ण महिला भेट्नुभएन त ?’ यो कुरा सुनेपछि वृद्ध केही भावुक भएर भन्न थाले, ‘एकजना भेटेको थिएँ ।’
युवकले अचम्मित हुँदै प्रश्न गर्यो, ‘त्यसो भए उसैसँग किन विवाह गर्नुभएन ? केमा कुरा बिग्रियो ?’ ‘महिला पनि पूर्ण पुरुष खोजिरहेकी थिइन् र उनको नजरमा म पूर्ण पुरुष ठहरिइनँ ।’ यति भनिसकेपछि वृद्धले भने, ‘पूर्ण मान्छे भेटेँ भने मात्र सम्बन्ध गाँस्छु भनेर पर्खियो भने जीवन सकिने रहेछ ।’