रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा परी सात प्रहरी कर्मचारी घाइते भएका छन् । आक्रोशित स्थानीयले गाःबहालको प्रहरी बिट तोडफोड गरेका छन् । त्यस्तै पानीको फोहाेरा फ्याँक्ने वाटर क्यानन र एउटा मोटरसाइकलमा पनि स्थानीयले क्षति पुऱ्याएका छन् ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गाबहालका ४० वर्षीय महेश बज्रचार्य, बंगलामुखीका ३९ वर्षीय पृथबिन्दु महर्जन, ३८ वर्षीय अशोक महर्जन, २६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, महालक्ष्मी नपा– १ का ४३ वर्षीय सुविन शाक्य, इमाडोलका ४७ वर्षीय ध्रुवराज बज्रचार्य, भक्तपुर ठिमी– ८ का ३२ वर्षीय श्याम श्रेष्ठ, काठमाडौंका ४० वर्षीय यादवलाल कायस्त रहेका छन् ।
पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखी सोधपुछ भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशील यादवले बताएका छन् ।
उनले भने, ‘ललितपुरमा आज अप्रिय घटना भयो । यस क्रममा सात प्रहरी घाइते भए । एउटा प्रहरी बिट तोडफोड भयो । मोटरसाइकल र वाटर क्यानन पनि तोडफोड भएका छन् । यस क्रममा आठजनालाई पक्राउ गरिएको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।’