काठमाडौं/ विपतको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना प्रवाह गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा उक्त परीक्षण गरिएको हो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टावरबाट परीक्षण सन्देश प्रसारण गरिएको थियो।
परीक्षणका क्रममा काठमाडौंका निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना पठाइएको थियो। सन्देश प्राप्त हुँदा मोबाइलमा विशेष चेतावनी ध्वनि बज्नुका साथै कम्पनसमेत भएको थियो।
सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना प्रवाह गर्न सकिन्छ। यसका लागि इन्टरनेटको आवश्यकता पर्दैन भने प्रत्येक व्यक्तिको मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने झन्झट पनि हुँदैन।
यस प्रविधिको अर्को विशेषता भनेको मोबाइल नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत लक्षित क्षेत्रका मोबाइल फोनमा एकैपटक सूचना प्रवाह गर्न सक्नु हो। साथै, प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण संकलन नगरी भौगोलिक क्षेत्रका आधारमा सूचना पठाउन सकिन्छ।
यस प्रणालीको प्रयोगबाट बाढी, पहिरो, हिमताल विस्फोटजन्य बाढी, भूकम्प तथा प्रतिकूल मौसमजस्ता विपतका सम्भावित जोखिमबारे पूर्वसूचना र आवश्यक सुरक्षा निर्देशन जोखिममा रहेका क्षेत्रका नागरिकसम्म समयमै पुर्याउन सकिने अपेक्षा गरिएको छ।
प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप परिष्कृत गर्दै उच्च विपत् जोखिम भएका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
विपतका समयमा नागरिकलाई तत्काल सचेत गराउन, सुरक्षित स्थानमा जान आवश्यक निर्देशन दिन तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न यो प्रणाली प्रभावकारी माध्यम बन्ने विश्वास गरिएको छ।