काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने बताएका छन् । आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले नै स्थानीय तहलाई बलियो बनाउने सुरु गरेको बताए ।
‘स्थानीय तहको सबलीकरणका कुरा गर्दा एमालेको ०५१ सालको सरकारलाई भुल्नुहुँदैन,’ ओलीले भने, ‘त्यतिवेला जनश्रमदान गरेर गाउँगाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै गरेको हो ।’
अध्यक्ष ओलीले स्थानीय तह सबलीकरण हुँदा देशलाई कुनै हानि नहुने बताए। उनले स्थानीयलाई स्वायत्तता दिनुपर्ने बताए। ‘स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘सक्षम स्थानीय तहबाटै जनताले संघीयताको अनुभूत गर्न पाउँछन्।’
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री गाउँगाउँ पुग्न नसक्ने, तर राज्यको प्रतिनिधिको रूपमा स्थानीय तहका प्रतिनिधि जनताका घरघर पुग्नुपर्ने बताए ।भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने क्रम जारी छ।