कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

ताप्लेजुङ- पर्यटकीय मौसम सुरु भएसँगै ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रको भ्रमण गर्नेको संख्या बढेको छ । मौसम खुलेसँगै कञ्चनजंघाका अधार शिविरमा पनि चाप बढेको छ ।

उत्तरी आधार शिविरअन्तर्गत खम्बाचेन, लोनाक र पाङ्पेमा तथा दक्षिणी आधार शिवरअन्तर्गत चेयराम, ओक्ताङ र रामजेर क्षेत्रमा पर्यटकको उपस्थिति बढेको स्थानीय होटेल व्यवसायीले बताएका छन् । लोनाकमा होटेल सञ्चालन गर्दै आएका तेन्जिङ शेर्पाले असोजको अन्तिम सातादेखि पर्यटकको उपस्थिति बढ्न थालेको बताए ।

होटेलहरूमा मात्र नभएर विदेशी पर्यटक टेन्ट टाँगेर स्लिपिङ ब्यागमा र आवश्यक सामग्री बोकेर आउने भएकाले ठुलो समस्या नभएको व्यवसायीको भनाइ छ । कञ्चनजंघा संरक्षण क्षेत्र आयोजका सूचना अधिकारी आदर्श क्षेत्रीले चालू आर्थिक वर्षको साउन महिनामा चारजना मात्र पर्यटक आएको बताउँदै असोज महिनासम्ममा एक सय ६४ जना पर्यटक भ्रमणमा आएको जानकारी दिए । उता परिषद्को तथ्यांकअनुसार अमेरिका, रुस, बेलायत, जर्मनी साथै चीनलगायतका देशबाट पर्यटक आएको जनाएको छ ।

कञ्चजंघा क्षेत्र भ्रमण र हिमाल आरोहणका लागि मुख्य दुई मौसममा पर्यटक आउने गरेका छन् । पहिलो मौसम असोज र कात्तिक तथा दोस्रो मौसम चैत, वैशाख र जेठमा हुने कञ्चनजंघा संरक्षण क्षेत्रले जनाएको छ । यो पहिलो पर्यटकीय मौसमम चलिरहेकाले आगामी दिनमा पर्यटको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । 

सुझावित समाचार