युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबई–भैरहवा सिधा उडानका लागि पहल गरिदिन संयुक्त अरब इमिरेट्स (युएई)का विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीलाई आग्रह गरेका छन् । 

युएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान गरिसकेको सन्दर्भमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गरिदिन ढकालले आग्रह गरेका हुन् । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट–२०२६’ मा सहभागी हुन पुगेका अध्यक्ष ढकालले बिहीबार जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । 

भेटमा ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्नसमेत आग्रह गरे । नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरे । नेपालमा उपलब्ध पर्याप्त स्वच्छ ऊर्जा (जलविद्युत्) र चिसो हावापानीका कारण सूचना प्रविधि तथा डेटा सेन्टर स्थापनाका लागि नेपाल अत्यन्त आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो । यसका साथै केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा समेत लगानीको ठुलो अवसर रहेको जानकारी उनले गराए ।

नेपाल र युएईबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । आगामी स्वर्ण जयन्ती वर्ष सन् २०२७ ले नेपाल र युएईबिच साझा समृद्धि र बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

सुझावित समाचार