काठमाडौं/ आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूमा दुई अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागमा सोबराबरको खर्च भएको हो । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माणकार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले जानकारी दिए ।
उनका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर)ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ । आयोजनाले ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो । त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको उनले बताए । ‘यी चार ठुला आयोजनाले मात्र एक अर्ब ३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो,’ उनले भने ।
विभागका अनुसार प्रगन्ना–बड्कापथ (दाङ)ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन् । ‘तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ,’ महानिर्देशक रजौरियाले भने ।