धनकुटा/ वन डढेलोको उच्च जोखिममा रहेको धनकुटा नगरपालिका–५ स्थित बडहरे सामुदायिक वन उपभोक्ता समितिलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण गरिएको छ। डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सामुदायिक वनलाई आवश्यक सामग्री उपलब्ध गराएको हो।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास र पत्रकार विनोद घिमिरेको विशेष पहलमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। डिभिजन वन कार्यालयका प्रमुख सञ्जीवराज ढकाल, वन अधिकृत विनोद शाह, भू–संरक्षण प्रमुख गंगाराम शाह र वन रक्षक सहायक तृतीय गोविन्द खत्रीले सामुदायिक वनका प्रतिनिधिलाई हेल्मेट, पोसाक, ग्लोब्स, फायर सटरलगायतका सामग्री हस्तान्तरण गरेका हुन्।
डढेलोको जोखिम बढ्दै गएको अवस्थामा नियन्त्रणका सामग्री उपलब्ध भएपछि वन क्षेत्रमा आगलागी हुन नदिन पूर्वतयारी गर्न तथा डढेलो लागिहालेमा तत्काल नियन्त्रणको प्रयास गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ। जिल्ला सदरमुकामसँग जोडिएको सो सामुदायिक वन डढेलोको उच्च जोखिममा छ। सो क्षेत्रमा प्रायः डढेलो लाग्ने गरेको छ।