काठमाडौं/ शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन भएका छन्। काठमाडौंमा सोमबार भएको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनबाट नेपालको नेतृत्वमा नौसदस्यीय कार्यसमिति चयन भएको हो। उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए।
दुई वर्ष कार्यकाल रहने समूहको वरिष्ठ उपाध्यक्षमा रोहन क्षेत्री गाउँले, उपाध्यक्षमा नवराज चालिसे, महासचिवमा सञ्जीप घिमिरे शुभचिन्तक, सचिवमा रोजिना थापा कार्की र कोषाध्यक्षमा सबिना बानियाँ चयन भएका छन्। कृष्णसिंह धामी, अञ्जीरसिंह विक र गोपाल संग्रौला सदस्य बनेका छन्।
यसअघि साधारणसभाले समूहका संस्थापक अध्यक्ष राजन शर्मासहित चार व्यक्ति तथा एक संस्थालाई पुरस्कृत गरेको थियो। पुरस्कृत हुनेमा शर्मासहित काठमाडौं विश्वविद्यालयका अध्यापक जिलेसन साह, नुवाकोटको त्रिभुवन माविका प्रधानाध्यापक राजेन्द्र दुवाडी र काठमाडौं रानीबारी माविकी छात्रा बेनिसा मंग्राती छन्। संस्थातर्फ सेभ द चिल्ड्रेनलाई सम्मान गरिएको हो।