कांग्रेस मकवानपुरका चार प्रदेश सभा क्षेत्रमा नयाँ नेतृत्व : तीनमा मतदान, एकमा सर्वसम्मत

मकवानपुरका चारवटै प्रदेशसभा क्षेत्रको नेतृत्व चयन प्रक्रिया सकियाे

बुधबार, १४ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनमा तीन क्षेत्रमा मतदानबाट सभापति चयन हुँदा मकवानपुर– २ (ख) मा भने राजेन्द्र तामाङ घिसिङ सर्वसम्मत सभापति चयन भएका छन् ।

मतदान भएका तीन क्षेत्रमध्ये मकवानपुर– १ (क) मा शंकरकुमार पराजुली, १ (ख) मा रामहरि तिमल्सिना र २ (क) मा ओमबहादुर बस्नेत सभापतिमा निर्वाचित भएका हुन् । सबैभन्दा कम मतान्तरको प्रतिस्पर्धा २ (क) मा भएको छ, जहाँ बस्नेत १५ मतको अन्तरले निर्वाचित भएका छन् ।

यसअघि भारी वर्षाका कारण कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ मा सारिएको थियो । 

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र १ (क) को सभापतिमा शंकरकुमार पराजुली निर्वाचित भएका छन् । उनले ३७९ मत प्राप्त गर्दा प्रतिस्पर्धी भूमिनन्द गौतमले २५९ मत प्राप्त गरे । पराजुली १२० मतान्तरले विजयी भएका हुन् ।

यस क्षेत्रमा अन्य अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपसभापतिमा राजेन्द्रराज बानियाँ, सचिवमा विश्वराज न्यौपाने, सहसचिवमा बलराम दुलाल र महिला सहसचिवमा मनमाया लो चयन भएका छन् । खुला सदस्यमा वैकुण्ठप्रसाद ढकाल, मानबहादुर ब्लोन र सम्राट घिमिरे तथा युवा सदस्यमा किरण घले निर्विरोध चयन भएका छन् ।

मकवानपुर– १ (ख) को प्रदेश सभा क्षेत्रीय सभापतिमा रामहरि तिमल्सिना निर्वाचित भएका छन् । तिमल्सिनाले २१० मत प्राप्त गर्दा प्रतिस्पर्धी प्रदीप कँडेलले १३६ मत पाए । तिमल्सिना ७४ मतको अन्तरले निर्वाचित भएका हुन् ।

उपसभापतिमा अजिता मोक्तान, सचिवमा विजय कार्की तथा सहसचिवमा प्रमिला राई र राजेन्द्रप्रसाद पुडासैनी चयन भएका छन्। मोक्तान र राई सर्वसम्मत चयन भएका हुन् ।

चार प्रदेश सभा क्षेत्रमध्ये सभापतिमा सबैभन्दा प्रतिस्पर्धात्मक परिणाम मकवानपुर– २ (क) मा आएको छ। यहाँ ओमबहादुर बस्नेतले निरोज रानामगरलाई १५ मतले पराजित गरेका छन् । बस्नेतले ३१६ मत प्राप्त गर्दा रानामगरले ३०१ मत पाए ।

यस क्षेत्रको उपसभापतिमा नवराज कार्की, सचिवमा सुमन गोले तथा सहसचिवमा मञ्जु ब्लोन र शम्भु सिवाकोटी चयन भएका छन् । 

यस्तै, मकवानपुर– २ (ख) मा राजेन्द्र तामाङ घिसिङ सर्वसम्मत रूपमा प्रदेश सभा क्षेत्रीय सभापति चयन भएका छन् । यस क्षेत्रमा उपसभापतिमा मुक्ति अधिकारी, सचिवमा रामशरण दोङ, सहसचिवमा चन्द्रबाबु थिङ र महिला सहसचिवमा सबिना बिडारी पनि सर्वसम्मत चयन भएका छन् ।

यससँगै कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा क्षेत्रको नेतृत्व चयन प्रक्रिया सकिएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन सकिएसँगै बुधबार मकवानपुरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा क्षेत्रीय अधिवेशन हुँदै छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अधिवक्ता राजकुमार उप्रेतीका अनुसार दुवै क्षेत्रमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्नेछ । कांग्रेसको महाधिवेशन कार्यतालिकामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिसहित क्षेत्रीय कार्यसमिति चयन गर्ने व्यवस्था छ।

सुझावित समाचार