- पृथ्वी राजमार्गको धादिङमा सात पहिरो, बिपी राजमार्गमा तीन ठाउँमा डाइभर्सन बगायो, कान्ति लोकपथ पनि अवरुद्ध, त्रिभुवन राजपथमा आलोपालो सवारी सञ्चालन, जोखिम मध्यनजर गर्दै हेटौँडा–कुलेखानी सडकमा पनि आवागमन रोकियो
निरन्तर बर्सातले ठाउँ–ठाउँमा बाढीपहिरो गएपछि देशको राजधानीसँग सम्पर्क हुने मुख्य राजमार्ग पुनः अवरुद्ध भएका छन् । बिहीबारदेखि मुलुकभर भइरहेको वर्षापछि आएको बाढी तथा पहिरोले पृथ्वी र बिपी राजमार्ग तथा कान्ति लोकपथ अवरुद्ध भएका छन् भने त्रिभुवन राजपथमा आलोपालो सवारी सञ्चालन गरिएको छ । जोखिम मध्यनजर गर्दै हेटौँडा–कुलेखानी सडकमा पनि शनिबारसम्मका लागि आवागमन रोकिएको छ ।
पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौंखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा काठमाडौं आउजाउ गर्ने यात्रु, यात्रुवाहक सवारीसाधन, मालवाहक गाडी अलपत्र भएका छन् । गत १० र १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरस्थित करिब सय मिटर सडक बगाउँदा १८ दिन पूर्ण रूपमा राजमार्ग अवरुद्ध भयो । १ असोजदेखि यातायात सेवा सञ्चालनमा आएको नौ दिनमै पुनः अवरुद्ध भएको छ ।
सडकको तल्लो क्षेत्रका ‘चार–पाँचवटा ग्याभिन वाल’ बाढीले बगाएपछि शुक्रबारबाट कृष्णभिर क्षेत्रमा आवागमन पूर्ण अवरुद्ध छ । यद्यपि, नयाँ ट्र्याक कटानमा परेको छैन । तल्लो क्षेत्रको थप ग्याभिन वाल बगाएमा जोखिम बढ्ने सडक विभागका अधिकारी बताउँछन् । त्यस खण्डमा सडक माथिल्लोपट्टि पनि पहिरो खसेको छ । यसैगरी, ज्यामिरेघाट र बांगेमोडमा दुईतर्फी सडक अवरुद्ध छ । टिंराङखानी, परेवाभिर, चालिसे, शीतलबजारलगायतका क्षेत्रमा पनि पहिरो गएर सडक एकतपर्फी रूपमा अवरुद्ध भएको छ ।
नागढुंगा–मुग्लिन सडक परियोजनाको पूर्वीखण्ड (नागढुंगा–मलेखु बजार)का प्रमुख गुरुप्रसाद अधिकारीले पृथ्वी राजमार्ग अवरुद्ध भएको बताए । ‘मुख्य समस्या कृष्णभिरमै हो । तर, त्यो हाम्रो खण्डमा पर्दैन । अन्य ठाउँ–ठाउँमा पहिरो गएको छ । पानी निरन्तर परेका कारण पहिरो पन्छाउन सकिएको छैन । साथै, अहिले प्रशासनले पनि यात्रा नगर्न भनेको अवस्था छ,’ उनले भने, ‘थप नोक्सानी भएन भने पानी रोकिएको दुई–तीन घण्टामा मलेखु–काठमाडौं सडक खुलाउन सकिन्छ । कृष्णभिरतर्फ भने सम्बन्धित कार्यालयले नै हेर्नेछ ।’
पृथ्वी राजमार्गको धादिङमा सात पहिरो
दुई दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडकमा क्षति पुगेको छ । बेनीघाट रोराङ गाउँपालिका– ७, कृष्णभिरमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताइन् । त्यस्तै, बेनीघाट रोराङ गाउँपालिका– १० को टिंराङखानी र गजुरी गाउँपालिका– ५, बांगेमोडमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध रहेको उनले बताइन् । बेनीघाट रोराङ गाउँपालिका– ९, ज्यामिरेघाट र वडा नम्बर ३ शीतलबजार तथा गजुरी गाउँपालिका– २ को परेवाभिर र चालिसेमा पनि एकतर्फी यातायात रहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताइन् । यात्रुको सुरक्षा तथा जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको उनले बताइन् । उनले भनिन्, ‘राजमार्गलगायत ठाउँ–ठाउँमा पहिरो खसेको छ । पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या छ । वर्षा रोकिएर पहिरो नझरे शनिबार बेलुकीसम्म राजमार्ग सुचारु गर्न सकिन्छ ।’
बिपी राजमार्ग पनि अवरुद्ध
पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने बिपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार–पाँच ठाउँमा पहिरो गएको छ । यसैगरी, १०–१२ असोज ०८१ को बाढीपहिरोले बगाएको सडकको सट्टा निर्माण गरिएको अस्थायी डाइभर्सन पनि बाढीले बगाएको छ । सडक डिभिजन काभ्रेपलाञ्चोकका प्रमुख सुमन योगेशले बिपी राजमार्ग अवरुद्ध भएको बताए । ‘पानी रोकिएपछि पहिरो हटाउन समय लाग्दैन । तर, केही ठाउँमा डाइभर्सन सडक बगाएको छ । चोकीडाँडा, घुमाउने बेँसी र पिप्ले–बर्खेखोलाको डाइभर्सन बगाएको छ । बाढी घटेपछि मात्रै त्यहाँ सडक खुलाउन सकिन्छ,’ उनले भने, ‘रोशी खोलामा आएको बाढी कम नभएसम्म सडक खुलाउन गाह्रो छ ।’
कान्ति लोकपथ पनि अवरुद्ध : त्रिभुवन राजपथमा आलोपालो सवारी सञ्चालन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथमा आलोपालो सवारी सञ्चालनको व्यवस्था गरेको छ । वर्षाले पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप अत्यधिक बढेको छ । सवारीको चाप व्यवस्थापन र आवागमन सहज बनाउन शुक्रबारदेखि समयतालिका लागू गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । प्रशासनका अनुसार हेटौँडाबाट काठमाडौं जाने सवारी बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । काठमाडौंबाट हेटौँडा आउने सवारीलाई भने साँझ ७ बजेदेखि राति ११ बजेसम्म सिमभन्ज्याङ चौकीबाट सञ्चालन गर्न दिइनेछ ।
यसैगरी, शनिबार हेटौँडाबाट काठमाडौं जाने सवारीका लागि दुईवटा समय निर्धारण गरिएको छ । पहिलो चरणमा बिहान ४ बजेदेखि ८ बजेसम्म र दोस्रो चरणमा शनिबार राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ । काठमाडौंबाट हेटौँडा आउने सवारीलाई शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म तथा आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ । इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्काभन्दा बढी भएका र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई राजपथमा सञ्चालन गर्न नदिइने भएको छ । त्यस्तै, ११ मिटर लम्बाइसम्मका बस मात्रै सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।
कोशीमा राजमार्ग तथा भित्री सडक अवरुद्ध
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्लामा १० वटा राजमार्ग तथा भित्री सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पाँचथरमा तमोर–करिडोर अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरमा बरडाँडामा र दोभानेमा पहिरो जाँदा यातायात ठप्प भएको प्रहरीले जनाएको छ । यस्तै, इलाममा जोगमाई खोलाको बाढीले तिलकेनी–सिमलगोलाइ सडक अवरुद्ध भएको छ । मयुम खोलामा पानीको बहाब बढ्दा नयाँबजार–फिक्कल सडक अवरुद्ध भएको छ । इलाम–बिर्तामोड भित्री सडकखण्डको इलाम नगरपालिका– ९ मा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
यस्तै, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ५ को दोभानमा पहिरो जाँदा भित्री सडक अवरुद्ध भएको छ । आठराई त्रिवेणी गाउँपालिका– १ मिरिडडिङमा पहिरो जाँदा भित्री सडक अवरुद्ध भएको कोशी प्रदेश प्रहरीले जनाएको छ । सोलुखुम्बुको साल्मेस्थित सिद्धिचरण लोकमार्गमा पहिरो खस्दा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।
तेह्रथुमको लालीगुँरास नगरपालिका– १ स्थित सडकमा लेदो र हिलो जमेकाले भित्री कच्ची सडक अवरुद्ध भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढी र पहिरोको त्रासका कारण मेची राजमार्ग, कोशी राजमार्ग र सिद्धिचरण लोकमार्गका ६ ठाउँमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका पहाडी क्षेत्रमा पछिल्ला दिनदेखि लगातार भइरहेको अविरल भारी वर्षाले सडक यात्रा जोखिमपूर्ण बनेपछि प्रहरीले राति सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।