चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका आयाम

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण
  • यथार्थमा आधारित रही ठोस नतिजा हासिल गर्नमा केन्द्रित भएमा चीन र अमेरिकाले अझ राम्रो भविष्य निर्माण गर्न सक्छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ हाल न्युयोर्कमा छन् । संयुक्त राष्ट्र संघको ८१औँ सभाको अवसर पारेर राष्ट्रपति सी अमेरिका पुगेका हुन् । राष्ट्रपति सीको ११ वर्षपछिको यो पहिलो अमेरिकी राजकीय भ्रमण हो । ६ महिनाको अन्तरालमा दुई नेताबिच भएको यो भ्रमणको आदानप्रदानले गहिरो महत्व राख्छ । यस भ्रमणले विश्वभरि नै ठुलो ध्यानाकर्षण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ‘अत्यधिक प्रतीक्षित’ ‘ऐतिहासिक भ्रमण’ र ‘महत्वपूर्ण कोसेढुंगा’जस्ता वाक्यांश बारम्बार प्रयोग भएका छन् । कतिपय विश्लेषकले अमेरिकी पक्षद्वारा आयोजना गरिने भव्य स्वागत समारोहलाई ‘अभूतपूर्व’समेत भनेका छन् ।

राष्ट्राध्यक्षस्तरीय कूटनीतिले चीन–अमेरिका सम्बन्धको ‘आधारस्तम्भ’ र ‘दिशा–निर्देशक’को भूमिका निर्वाह गर्छ । नयाँ युगको सुरुवातदेखि नै ‘एनेनबर्ग रिट्रिट’मा भएको पहिलो गहन वार्तादेखि वासिंटनस्थित ह्वाइट हाउसमा भएको ‘शरदकालीन बैठक’सम्म र ‘मार–ए–लागो’मा तय गरिएको रचनात्मक वातावरणदेखि ‘फिलोली इस्टेट’मा कोरिएको नयाँ दृष्टिकोणसम्म राष्ट्रपति सीका अमेरिकी भ्रमणले चीन–अमेरिका सम्बन्धको विकासलाई निरन्तर अघि बढाएका छन् ।

मे महिनामा राष्ट्रपति सीले चीनको राजकीय भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पसँग ऐतिहासिक वार्ता गरे । दुई नेताले रणनीतिक स्थिरतासहितको रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने नयाँ दृष्टिकोणमा सहमति जनाए र आगामी तीन वर्ष तथा त्यसपछिको अवधिका लागि चीन–अमेरिका सम्बन्धलाई रणनीतिक मार्गदर्शन प्रदान गरे । यस कदमलाई दुवै देशका जनता तथा अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा स्वागत गरेका छन् ।

बेइजिङदेखि वासिंटनसम्म दुई नेताले रणनीतिक संवाद कायम राख्दै आएका छन् । यसले दुवै पक्षलाई एक–अर्कालाई दीर्घकालीन दृष्टिकोणबाट हेर्न मद्दत गर्छ, विशिष्ट मतभेदलाई द्विपक्षीय सम्बन्धको समग्र स्वरूपमा खलल पुर्याउनबाट रोक्छ र सबै तहका आदान–प्रदानका लागि स्पष्ट दिशा प्रदान गर्छ । चीन–अमेरिका सम्बन्ध विभिन्न क्षेत्रमा फैलिएको छ र यसमा गहिरो रूपमा अन्तरनिहित हित जोडिएका छन् । नेताबिचको सहमतिलाई कार्यान्वयन गर्न दुवै पक्षका सम्बन्धित निकायबिच समन्वय सुदृढ पार्न र सबै क्षेत्रमा हुने सहकार्यको निरन्तर अनुगमन गर्न आवश्यक छ ।

संयुक्त रूपमा तय गरिएको दिशालाई ठोस नीति र कार्यमा रूपान्तरण गरेर मात्र दुवै पक्षले एक–अर्काप्रतिको शंका कम गर्न तथा द्विपक्षीय सम्बन्धको स्थिरता कायम गर्न सक्छन् । रणनीतिक स्थिरतासहितको रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने मुख्य आधार भनेको दुवै पक्षले एउटै दिशामा काम गर्नु र दुई नेताबिचको सहमतिलाई व्यवहारमा उतार्न संयुक्त कदम चाल्नु हो । मे महिनायता दुवै देशले सञ्चार तथा संवादलाई सुदृढ बनाएका छन् र दुई राष्ट्रप्रमुखले तय गरेको एजेन्डालाई अघि बढाउँदै प्रारम्भिक नतिजा हासिल गरेका छन् ।

चीन र अमेरिकाका आर्थिक तथा व्यापारिक टोलीले अघिल्ला चरणका वार्तामा भएका सहमति कार्यान्वयन तथा द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनजस्ता विषयमा विचार आदानप्रदान गरेका छन् भने व्यापार परिषद्सम्बन्धी विशिष्ट व्यवस्थाबारे पनि निरन्तर संवाद जारी राखेका छन् । 

साथै, दुवै देशका सेनाले समुद्री तथा हवाई सुरक्षाको अवस्थाबारे छलफल गर्न ‘चीन–अमेरिका सैन्य समुद्री परामर्श सम्झौता’अन्तर्गत कार्यसमूहको बैठक आयोजना गरेका छन् । यसका अतिरिक्त लागुऔषध नियन्त्रण र कानुन कार्यान्वयनजस्ता क्षेत्रमा पनि दुवै पक्षबिच संवाद कायम रहेको छ भने स्थानीय, व्यावसायिक तथा शैक्षिकस्तरमा पनि आदानप्रदान जारी छ । चीन–अमेरिका सम्बन्ध विगतकै अवस्थामा फर्किने उद्देश्यले अघि बढेको होइन । तर, यदि दुवै पक्ष यथार्थमा आधारित रही ठोस नतिजा हासिल गर्नमा केन्द्रित भए भने उनीहरूले अझ राम्रो भविष्य निर्माण गर्न सक्छन् । चीन दुई देशबिचको सम्बन्धको विकासलाई इमानदारीका साथै सिद्धान्तनिष्ठ भएर तथा दूरदृष्टिका साथै स्पष्ट अडान राख्न चाहन्छ ।

चीनको सार्वभौमिकता, सुरक्षा र विकाससम्बन्धी हितमाथि कुनै पनि प्रकारको आँच आउनुहुँदैन । साथै, ताइबानको मुद्दा, लोकतन्त्र तथा मानव अधिकार, विकासको मार्ग र प्रणाली, तथा विकासको अधिकारजस्ता चारवटा ‘रेड लाइन’लाई चुनौती दिनुहुँदैन । अमेरिकाले ‘एक–चीन’ सिद्धान्त र चीन–अमेरिकाबिचका तीनवटा संयुक्त विज्ञप्तिको पालना गर्नुपर्छ तथा ताइबानको मुद्दालाई अत्यन्त सावधानीपूर्वक सम्बोधन गर्नुपर्छ ।

सम्बन्धलाई सही दिशामा अघि बढाउँदै, सहमति विस्तार गर्दै, व्यवधान हटाउँदै र प्रगतिलाई गति दिँदै चीन र अमेरिकाले अर्थतन्त्र, व्यापार र कृत्रिम बुद्धिमत्तालगायत क्षेत्रमा सहकार्यको दायरा विस्तार गर्न सक्छन् । यसले दुवै देश र तिनका जनताको दीर्घकालीन हितको सेवा गर्छ ।

(चीनको ग्लोबल टाइम्सको सम्पादकीय)

सुझावित समाचार