बालेन सरकारका घातक ‘प्याराडक्स’

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण
  • मुलुकको असफलताका मुख्य जिम्मेवार भनी प्रचार गरिएका पुराना दलको बहिर्गमन तथा नयाँ दलको उदयले मात्र जेन–जी विद्रोहको पुष्टि गर्दैन

याे लेख एउटा हिंस्रक मुसाको लोककथाबाट आरम्भ गर्छु । एकजना कृषकले मरेको सुँगुर पानी सुकेको अर्थात् सुक्खा इनारमा फालिदिन्छ । त्यो सुँगुरको मासु खान धेरै मुसा जम्मा हुन्छन् । केही दिन मुसा त्यो सुँगुरको मासु खाएर रमाउँछन् । दिनहरू बित्दै जान्छन् र सुँगुरको मासु सकिन थाल्छ । अन्ततः मासु सकिन्छ र मुसाहरू इनारबाट निस्कने प्रयास गर्छन् । तथापि, इनार धेरै गहिरो भएको हुनाले अथक प्रयासका बाबजुद उनीहरू इनारबाट निस्कन असफल हुन्छन् । जब खाने कुराको अभाव हुन्छ, मुसाहरू एक–अर्कालाई खान थाल्छन् । मुसाहरू मुसा नै खाएर जिउँछन् । एक दिन कृषकले इनारमा हेर्छ, त्यहाँ उसले एउटा मात्रै मुसा जीवित देख्छ । त्यो मुसाको आँखा राता–राता र हेर्दै हिंस्रक देखिन्थ्यो । अन्त्यमा कृषकले उक्त मुसालाई इनारबाट बाहिर निकालेर स्वतन्त्र छाडिदिन्छ । उसले जीवनदान दिनका निम्ति त्यो मुसालाई इनारबाट मुक्त गराएको थिएन । उसलाई थाहा थियो, अब त्यो मुसालाई मुसा खाने आदत वा लत बसिसकेको छ । अब यसले अन्न होइन, अन्य मुसाको सिकार गर्नेछ । यसरी एउटा मुसा अन्य मुसाविरुद्ध हिंस्रक बनाइन्छ ।

दुईतिहाइ बहुमतनिकट बलियो बालेन नेतृत्वको रास्वपा सरकारले करिब आधा वर्ष पूरा गरेको छ । संसदीय मर्यादा, परम्परा तथा अभ्यासबमोजिम सरकारको मूल्यांकन गर्ने समय अझै भएको छैन । तथापि, परम्परागत भाष्यलाई पन्छाएर सरकार कुन दिशातर्फ उन्मुख भएको छ, पुग्न खोजेको गन्तव्य कहाँ हो भन्ने स्पष्ट दृष्टिकोण बुझ्न यति समय पर्याप्त छ । यहाँ बालेन सरकारका घातक ‘प्याराडक्स’बारे बहस गरिनेछ । यहाँ पंक्तिकारले विरोधाभासको सट्टा ‘प्याराडक्स’ शब्दको प्रयोग गर्नुको खास अर्थ छ । अंग्रेजीमा एक बहुउद्धृत दार्शनिक भनाइ छ, ‘लेस इज मोर (थोरै नै धेरै हो)’ । अर्थात्, कम कुरामा धेरै प्रभाव हुनु हो । यसको मर्म अनावश्यक कुरा हटाएर गुणस्तर, सफलता एवं स्पष्टतामा ध्यान दिनु भन्ने हो । धेरै कुरामा हात हाल्नु वा भिडभाड गराउनुभन्दा सादा, थोरै तथा आवश्यक काम गर्नु बढी प्रभावकारी र राम्रो हुन्छ । प्याराडक्स यस्तो अवस्था वा कथन हो, जहाँ बाहिरबाट हेर्दा वा सुन्दा सुरुमा असम्भव, आत्मविरोधी वा गलतजस्तो लाग्छ, तर गहिरिएर हेर्दा त्यसमा गहिरो सत्य लुकेको हुन्छ । सुकरातको एउटा प्रसिद्ध दार्शनिक भनाइ छ, जसलाई सुकरातको प्याराडक्स भन्ने गरिन्छ, ‘मलाई यति मात्र थाहा छ कि मलाई केही पनि थाहा छैन ।’ सुकरात (४७०—३९९ इ.पू.) प्राचीन ग्रिकका विख्यात दार्शनिक हुन् ।

केही गम्भीर र दीर्घकालीन समयसम्म मुलुकलाई धार्मिक, साम्प्रदायिक द्वन्द्वमा फसाउने घातक प्याराडक्स निर्माण गर्ने दिशामा सरकारका कतिपय काम र निर्णयले आधार तयार पार्दै गएको देखिन्छ । यस्तो कार्य असंवैधानिक मात्रै होइन, गम्भीर राष्ट्रघातसमेत सिद्ध हुने निश्चित छ । यसर्थ, यस्तो घातक क्रियाकलाप र व्यवहार वेलैमा सच्याइनुको विकल्प छैन ।

यसैबिच जेन–जी विद्रोहको पहिलो वार्षिकी सकिएको छ । ज्ञातव्य रहोस्, रास्वपाले प्राप्त गरेको अभूतपूर्व जनमतको मूल आधार गत भदौ २३, २४ मा भएको ध्वंसात्मक विद्रोह हो । अतः जेन–जी विद्रोहका एजेन्डा तथा उपलब्धि कता पुगे भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । किनभने, सो आक्रोशको वैधानिक उत्तरदायित्व र जिम्मेवारी बालेन सरकारले लिनैपर्छ । अन्यथा, हिंसा, आगजनी, तोडफोड र वितण्डाको अर्थ वा औचित्य बहालवाला संसद्को विनाआधार र कारण (असंवैधानिकसमेत) विघटन गरी नयाँ संसद्को चुनाव गर्नु मात्रै थिएन, होइन । यसै पनि त्यो विद्रोहका धेरै पाटा अझै रहस्यमय र अदृश्य नै छन् । पुराना, अक्षम तथा मुलुक असफलताका मुख्य जिम्मेवार भनी प्रचार गरिएका कांग्रेस, एमाले र नेकपाको बहिर्गमन तथा नयाँ भनिएका दलको उदयले विद्रोहको स्वतः वा स्वाभाविक पुष्टि गर्दैन । 

तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल आदि पुराना नेता अयोग्य सिद्ध भए, अब बालेन, रवि लामिछाने, हर्क राई आदिले आफू योग्य रहेको पुष्टि गर्नुपर्छ । पुरानाको अयोग्यता नै नयाँ भनिनेहरूको योग्यता र सक्षमताको स्वतः पुष्टि हुने प्रमाणपत्र होइन । त्यसका निम्ति नयाँ सरकार, संसद् र दलले व्यवहारमै पुष्टि गर्नुपर्छ । कुशासनलाई सुशासनले विस्थापित गर्ने, भ्रष्टाचार र आर्थिक अनियमिततालाई पारदर्शिताले हटाउने, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य क्षेत्रको लुट अन्त्य गर्ने, न्यायको सर्वसुलभता, युवा र योग्य शासकको माग नै जेन–जी विद्रोहका मूलभूत एजेन्डा हुन् । यी तात्कालिक समस्या हुन् । जातीय, क्षेत्रीय, वर्गीय, लैंगिक आदि विभेदका पहाड भत्काउने महत्वाकांक्षा त्यो विद्रोहको लक्ष्य थिएन । त्यो विद्रोह आकस्मिक जनआक्रोशको परिणति थियो । त्यो युवा आक्रोशलाई स्वार्थी र गलत तत्वले अनपेक्षित आफ्नो स्वार्थअनुकूल भड्काएकामा भने दुईमत छैन ।

मुलुकलाई नयाँ र दीर्घकालीन द्वन्द्वमा फसाउने केही विवादित कामको सुरुवात यो सरकारले गरेको देखिँदै छ । जेन–जी विद्रोहको पहिलो वार्षिक स्मृति सभामा गृहमन्त्री सुधन गुरुङले विवादित धार्मिक गुरुद्वारा कार्यक्रमको उद्घाटन गराए । जुन कार्यले मुलुकमा धार्मिक द्वन्द्व र घृणा फैलाउन राज्यसत्ताको दुरुपयोग गरिएको प्रमाणित हुन्छ । विवादित धार्मिक गुरुले त्यस कार्यक्रमपश्चात् उत्पीडित समुदायका व्यक्तिप्रति लक्ष्यित गर्दै दिएका उत्तेजक अभिव्यक्तिले के संकेत गर्छ ? सयौँ सहिदको बलिदानबाट महत्वपूर्ण संवैधानिक हकका रूपमा प्राप्त गरेको धर्म निरपेक्षताको ठाडो उल्लंघन गरिएको छ । स्मरणीय छ, बालेन शाहले प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा निश्चित धार्मिक पक्षधरता प्रदर्शन गरेर असंवैधानिक कार्यको प्रारम्भ गरेका थिए । सो कार्य धार्मिक द्वन्द्व, घृणा र हिंसा फैलाउने सरकारको पहिलो सन्देश, संकेत वा चेतावनी थियो । जसको साक्षी यो देशका स्वनामधन्य बौद्धिक जमात प्रतिक्रियाविहीन भई बसिदिए । 

त्यति मात्रै होइन, पूर्वी नेपालको हिन्दु–मुस्लिम भिडन्त हुनुमा पनि प्रत्यक्ष–परोक्ष वर्तमान सरकारको कमजोरी जिम्मेवार देखिन्छ । यो राजनीतिक आरोप मात्रै होइन । प्रधानमन्त्री बालेनको शपथग्रहणको धर्म–निरपेक्षताविरोधी कार्य, जेन–जी विद्रोहको स्मृतिसभामा देखिएको व्यवहार तथा गृहमन्त्रीको कोशी प्रदेश भ्रमणलगत्तै भएको धार्मिक मुठभेड तथा निहत्था जनताको राज्यद्वारा हत्या आदि क्रियाकलापले आशंका गर्ने ठाउँ दिएका छन् । बालेन सरकारले धर्म निरपेक्षताविरुद्धको असंवैधानिक गतिविधि तत्काल रोक्नु अत्यावश्यक छ । अन्यथा, मुलुक अन्तहीन धार्मिक द्वन्द्व, घृणा, हिंसा र असुरक्षाको भासमा भासिन बेर छैन ।

नेपाल बहुधार्मिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत विविधतासहितको मुलुक हो । विभिन्न कालखण्डमा गाभिएका पृथक् समाज, संस्कृति, मूल्य–मान्यता र सभ्यता जीवित छन् । धर्म, भाषा, जातजाति, सम्प्रदाय, मान्यतालाई स्वतन्त्रतापूर्वक जीवन्त रहिरहन पाउने संवैधानिक र नैसर्गिक हक प्राप्त छ । पृथक्ताका नाममा हुने–गरिने विभेद, असमानता र अपमानको अन्त्य गर्नु लोकतान्त्रिक सरकार र विधिको शासनको कर्तव्य एवं दायित्व हो । उल्टै संविधान, कानुन र राज्यसत्ताको दुरुपयोग हुने गरी प्रधानमन्त्री र सरकार धर्म निरपेक्षताविरुद्ध लाग्नु संविधान र सिंगो मुलुकको हितविपरीत हुन जान्छ ।

वर्णानां ब्राह्मणो गुरुः अर्थात् चारै वर्ण  (ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र) का गुरु ब्राह्मण हुन् । यो विख्यात संस्कृत श्लोकको अंश हो । पद्मपुराण, ब्रह्मपुराण, चाणक्य नीति आदिमा यो श्लोक वर्णित छ । धार्मिक, साम्प्रदायिक द्वन्द्वमा मुलुकलाई फसाएर राजनीतिक फाइदा उठाउने अतिवादी षड्यन्त्रबाट जोगिन जरुरी छ । विज्ञान, प्रविधिले चरम विकसित गराएको आजको विश्वमा हामी भने धर्म, जाति, सम्प्रदायका नाममा जनता र मुलुकलाई विभाजन गर्ने वा अनन्त द्वन्द्वमा फसाउने खेलमा लाग्नु मूर्खताबाहेक केही होइन । लेखको आरम्भमा प्रस्तुत हिंस्रक मुसाको कथाजस्तै पर्दापछाडिबाट कोही कसैले आफ्नै मुलुक र समुदायभित्र द्वन्द्व गराउने, एक–अर्काबिच भिडाउने दाउ खोजिरहेका त छैनन् ? नेपाली समाजमा विभेद, असमानता र बहिष्करण छन् । समाजमा एकता, न्याय र भाइचारा स्थापित गर्ने वैज्ञानिक, शान्तिपूर्ण, सम्मानजनक र मानवीय उपाय र विधि अपानाउनुपर्छ । देशमा संविधान, कानुन छन्, त्यसको कार्यान्वयन र विकासबाट समानता, विधिको शासन, न्याय स्थापित गर्न सकिन्छ । अँध्यारो कुनाबाट बुनिएका असंवैधानिक षड्यन्त्रलाई परास्त गर्नु जरुरी छ ।

अन्त्यमा, अरस्तुको मर्मस्पर्शी भनाइसहित लेख टुंग्याऊँ । उनी भन्छन्, ‘एक तानाशाहलाई असाधारण रूपमा धार्मिक देखिने नाटक गरिरहनुपर्छ, ताकि मानिसहरू उसलाई ईश्वरका समर्थक मानेर विरोध गर्नबाट डराऊन् ।’ अर्का विख्यात दार्शनिक प्लेटो तथा महान् राजा सिकन्दरका गुरु अरस्तु प्राचीन ग्रिकका एक महान् दार्शनिक, वैज्ञानिक र विचारक थिए । उनी पश्चिमी दर्शनका सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन् । संशय छ, कतै बालेन, सुधन र रास्वपा धार्मिक पक्षधरता देखाएर राजनीतिक तानाशाह बन्ने योजनामा त छैनन् ? अन्यथा, यो मुलुकलाई विविधताको सुन्दर र सबैको प्रिय भूमि बन्न दिऊँ । धातक प्याराडक्सतर्फको बाटो मोडौँ ।

सुझावित समाचार