१० भदौको भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकारका परिवारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा छ ।
त्यस्तै, बाढीमा परिवार र घरवास गुमाएका पत्रकार नीराजन पौडेललाई पनि महासंघले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ । अन्य प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको क्षतिको विवरण संकलन भइरहेको र आवश्यकताको आधारमा मापदण्ड तयार गरी सहायता वितरण गरिने महासंघले उल्लेख गरेको छ ।
त्यस्तै, महासंघले सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ मार्फत पत्रपत्रिकाले प्राप्त गरिरहेको विज्ञापनबापतको रकममा भारी कटौती गरेको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
उक्त कार्यविधि खारेज गर्न सूचना तथा सञ्चारमन्त्रीसमक्ष भदौ २५ गते राखिएको माग पूरा नभएकाले असोज ५ गते सोमबारबाट देशव्यापी आन्दोलनमा उत्रने निर्णय भएको महासचिव दाहालले बताए । ‘महासंघ वार्ता र संवादमार्फत समस्या समाधान हुने विश्वास प्रकट गर्दछ । अन्यथा बैठकको निर्णयबमोजिम पहिलो चरणमा विभिन्न कार्यक्रमसहित हुने देशव्यापी आन्दोलनमा सहभागी हुन महासंघमातहतका समितिहरू र सरोकारवाला सबैमा आह्वान गर्दछ,’ महासंघको विज्ञप्तिमा छ ।