यमनमा पुनः लडाइँ चर्किएपछि द्वन्द्वबाट बच्न भागेका तीन हजार ४०० भन्दा बढी मानिस जिबुटीको उत्तरी तटीय सहर ओबोकमा आइपुगेको जिबुटीका अधिकारीले बताए । पछिल्लो समय यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार र हुथी विद्रोहीबिच लडाइँ चर्किएको छ ।
सन् २०१५ देखि उत्तरी यमनको अधिकांश भूभाग नियन्त्रणमा राखेको हुथीले लालसागरको तटीय सहर मोचा कब्जा गर्दै अन्य तटीय क्षेत्र हुँदै यमन र जिबुटीलाई छुट्याउने साँघुरो जलमार्गमाथि नियन्त्रण कामय गरेको छ । जिबुटीको जनसंख्या १२ लाखभन्दा कम छ । न्यून स्रोतसाधनयुक्त सो देशमा छोटो समयभित्रै हजारौँ मानिसको आगमन भएपछि सेवाहरूमा थप भार थपिएको त्यहाँका अधिकारीले चेतावनी दिएका छन् ।
युद्धबाट भागेर आफ्नो समुद्री तटमा आइपुगेका यमनीले आफूसँग भएका सामान (जस्तै– कपडाका बोरा, पानीका भाँडा, खानेकुरा र अन्य व्यक्तिगत सामग्री) बोकेको देखिन्थ्यो । अँध्यारो भएपछि खिचिएको दृश्यमा जिबुटीको सेनाले फ्लडलाइटको उज्यालोमा डुंगाहरूबाट आएका मानिसलाई उतारिरहेको देखिन्थ्यो । जिबुटीस्थित ‘अन्तर्राष्ट्रिय आप्रवासन संगठन’का प्रमुख अलेक्जेन्डर कोइसेकका अनुसार यमनीहरू साना–ठुला ढुंगामा चढेर समुद्रपार गरिरहेका छन् ।