अब संघीय संसद्का सबै काम डिजिटल प्लाटफर्ममा

मोबाइलबाटै सांसदको हाजिरीलगायतका विवरण लाइभ हेर्न पाइने

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

संघीय संसद् सचिवालयले डिजिटल पार्लियामेन्ट प्लाटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार संयुक्त रूपमा प्लाटफर्मको शुभारम्भ गरेका हुन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लाटफर्म डिजिजिट.पार्लियामेन्ट.जिओभी. एनपी सञ्चालनमा ल्याइएको हो । संसद् सचिवालयमा हाल प्रयोगमा रहेका वेबसाइट तथा संसदीय कामकारबाहीसँग सम्बन्धित विभिन्न प्रणालीलाई एकीकृत गर्दै थप प्रभावकारी, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले यो पहल अघि बढाइएको हो । विभिन्न मुलुकमा प्रचलित डिजिटल संसदीय अभ्याससमेतका आधारमा नेपालको संघीय संसद्लाई डिजिटल रूपान्तरणको दिशामा अघि बढाउने सचिवालयको लक्ष्य रहेको प्रवक्ता गिरीले बताए ।

डिजिटल पार्लियामेन्ट परियोजना समन्वय एवं सहजीकरण समितिका संयोजक विशाल सापकोटाका अनुसार डिजिटल पार्लियामेन्ट प्लाटफर्ममार्फत संघीय संसद्का प्रशासनिक, व्यवस्थापकीय तथा विधायिकी कार्यलाई डिजिटल प्रणालीमा आबद्ध गरी सूचना, अभिलेख र गतिविधिको व्यवस्थित, सुरक्षित तथा सहज व्यवस्थापन गरिनेछ । यसबाट संसद्को पारदर्शिता, जवाफदेहिता र कार्यक्षमतामा थप सुधार भई सुशासन प्रवर्द्धनमा योगदान पुग्ने उनको भनाइ छ ।

सांसदहरूको एकीकृत डिजिटल अभिलेख तयार गरिनेछ । यसअन्तर्गत सांसदको प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश, सदन तथा अन्य आवश्यक विवरण व्यवस्थापन गरिनेछ । बायोमेट्रिक र नियर फिल्ड कम्युनिकेसन (एनएफसी) पहिचानसम्बन्धी विवरणसमेत सुरक्षित रूपमा व्यवस्थापन गरिने संयोजक सापकोटाले बताए ।

प्लाटफर्ममार्फत दुवै सदन तथा समितिका बैठकमा स्वचालित विद्युतीय हाजिरी प्रणाली लागू गरिनुका साथै उपस्थिति/अनुपस्थिति, बिदा/ढिला उपस्थितिको विवरण अभिलेखीकरण गरी आवश्यक प्रतिवेदन तयार गर्न सकिने सापकोटा बताउँछन् ।यसैगरी, सदन तथा समितिका बैठकको मिति, समय, स्थान र कार्यसूची व्यवस्थापन गरिनेछ ।

बैठकसम्बन्धी सूचना, कागजात तथा कार्यविवरण डिजिटल रूपमा वितरण गरिनुका साथै बैठकको अवस्था (जस्तै : बैठक निर्धारणसम्बन्धी सूचना, सञ्चालनको अवस्था स्थगित वा सम्पन्न रहेको) अद्यावधिक गर्न सकिनेछ । सरकारी तथा गैरसरकारी विधेयकको डिजिटल दर्ता गरी विशिष्ट पहिचान नम्बर प्रदान गरिनेछ । विधेयक प्रस्तुत भएदेखि पारित वा अन्य अवस्थासम्मको प्रगति अनुगमन गर्न सकिनेछ ।

सदनमा सांसदहरूले व्यक्त गरेका विचार धारणा विषयगत र सदस्यगत रूपमा अभिलेखीकरण गरिनेछ । त्यस्ता अभिव्यक्तिलाई सम्बन्धित बैठक तथा भिडियोको समयसँग आबद्ध गरी सदस्य, विधेयक र विषयका आधारमा वर्गीकरण गर्न सकिनेछ ।

प्रविधिमैत्री संसद्का लागि सबैको अपनत्व जरुरी : सभामुख
‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’को परीक्षण सञ्चालनको औपचारिक उद्घाटन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताए । ‘यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो । विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ । अब थप ढिला गर्नुहुँदैन,’ उनले भने । सभामुख अर्यालले डिजिटल पार्लियामेन्टमार्फत संसद्सँग सम्बन्धित सूचना, दस्ताबेज, गतिविधि तथा ऐतिहासिक अभिलेखलाई एकीकृत डिजिटल प्रणालीमा व्यवस्थापन गरिने बताए । नेपालको संसदीय इतिहाससँग सम्बन्धित पुराना दस्ताबेज तथा अभिलेख खोजी गरी सम्भव भएसम्म डिजिटलाइज गर्ने लक्ष्य रहेको उनले बताए ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल पार्लियामेन्ट प्लाटफर्मको परीक्षण सञ्चालनको सफलताको शुभकामना व्यक्त गरे । उनले यसलाई संघीय संसद्को डिजिटल रूपान्तरण यात्राको महत्वपूर्ण सुरुवातका रूपमा उल्लेख गरे । डिजिटल प्रणालीले संसदीय कामलाई छिटो, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे । दाहालले व्यवस्थापकीय, विधायिकी तथा प्रशासनिक कार्यलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्नुपर्नेमा जोड दिए । सूचना तथा अभिलेखलाई व्यवस्थित र सहज पहुँचयोग्य बनाउनुपर्ने उनको भनाइ थियो ।

सुझावित समाचार