कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी पदमुक्त भएका छन् । निर्वाचन आयोगले सूचना प्रकाशित गरेर दल त्याग गरी अन्य दलमा प्रवेश गरेका देशभरका स्थानीय तहका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ ।
०७९ सालको स्थानीय तह निर्वाचनमा गिरी तत्कालीन नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । पार्टी त्याग गर्दै उनी रास्वपाको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका थिए ।
पार्टी छोडेपछि नेकपाले उनलाई पार्टीबाट निष्कासन गर्दै त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । पार्टीबाट निर्वाचित जनप्रतिनिधि अन्य दल प्रवेश गरेको भनी सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी आएकाले पद रिक्त रहेको आयोगले सूचनामा उल्लेख गरेको छ ।
निर्वाचित भएको दल त्याग गरे जनप्रतिनिधिको पद रिक्त हुने व्यवस्था ऐनमा छ । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबाट निर्वाचित दुई उपाध्यक्ष तथा आठजना वडाध्यक्षको पद ऐनअनुसार रिक्त भएको आयोगले जनाएको छ ।