सन् १८२१ : नेपोलियन बोनापार्टको विशाल सेना मस्को प्रवेश गर्यो, तर नेपोलियनको सेना नजिकिँदै गर्दा रुसीहरूले राजधानी सहर छोडेर भागेका थिए । बाँकी रहेका केहीले सहरमा आगजनी गरिदिए, जुन पाँच दिनसम्म निभेको थिएन ।
सन् १३२१ : इटालियन कवि दाँते अलिघिरीको मलेरियाबाट निधन भयो । मृत्युको केही घण्टाअघि मात्र उनले ‘प्याराडिसो’ लेखिभ्याएका थिए ।
सन् १८४७ : अमेरिकी जनरल विनफिल्डको नेतृत्वको सेनाले सन् १८४७ मा मेक्सिकोको राजधानी कब्जा गरेको थियो ।
सन् १८६७ : कार्लमार्क्सको चर्चित पुस्तक ‘पुँजी’को पहिलो खण्ड प्रकाशित भयो ।
सन् १९०१ : अमेरिकाका २५औँ राष्ट्रपति विलियम म्याककिन्लेको मृत्यु भयो । ६ सेप्टेम्बरमा एउटा सार्वजनिक कार्यक्रममा कार्यकर्तासँग हात मिलाउने क्रममा म्याककिन्लेलाई दुईजनाले गोली हानेका थिए । पेट र छातीमा गोली लागेका उनको एक सातापछि मृत्यु भएको थियो । उनको कार्यकालमा अमेरिका र स्पेनको युद्ध भएको थियो ।
सन् १९५९ : सोभियत अन्तरिक्ष अनुसन्धान यान लुना २ चन्द्रमामा पुग्ने मानिसले बनाएको पहिलो यान हो । सन् १९५९ को १२ सेप्टेम्बरमा पठाइएको लुना १४ सेप्टेम्बरमा चन्द्रमामा पुगेर हराएको थियो । चन्द्रमामा पुग्नेबित्तिकै लुनाको पृथ्वीसँगको सम्पर्कविच्छेद भएको थियो ।
सन् १९६० : इराक, इरान, कुवेत र साउदी अरब मिलेर तेल उत्पादक राष्ट्रहरूको शक्तिशाली संगठन ओपेकको निर्माण भयो ।
सन् १९९९ : किरिवाटी, नाउरु र टोंगाले संयुक्त राष्ट्र संघको सदस्यता लिए ।
सन् २०१९ : साउदी अरबको अब्केक तेल संयन्त्रमा भएको ड्रोन आक्रमणपछि देशको आधा तेल उत्पादन बन्द भयो । साउदी अरबले भीषण आक्रमण गरिरहेको दक्षिणी छिमेकी यमनका विद्रोही हुथीले आक्रमणको जिम्मेवारी लिएको थियो ।