स्वदेशी कुखुरालाई भारतीय भन्दै नियन्त्रणमा लिएपछि किसान र व्यवसायीको आपत्ति

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

भारतबाट अवैध रूपमा कुखुरा भित्रिएको भन्दै रौतहटका किसानले सीमामा कडाइ गर्न माग गरिरहेका वेला सशस्त्र प्रहरीले स्वदेशमै उत्पादित ब्रोइलर कुखुरा बोकेका तीनवटा पिकअप नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ। आवश्यक कागजातसहित ढुवानी भइरहेको नेपाली कुखुरालाई भारतीय भन्दै नियन्त्रणमा लिएर भन्सारमा बुझाएको स्थानीय किसान तथा व्यवसायीहरूले बताएका छन्।

रौतहटको परोहा नगरपालिका–९ स्थित अरमान एग्रो पोल्ट्री फार्ममा उत्पादित ब्रोइलर कुखुरा बोकेर बजारतर्फ जाँदै गरेका तीनवटा पिकअप शनिबार साँझ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। बागमती प्रदेश ०१–०२७ च ८४८३, ना ५ च १८९८ र प्रदेश २–०३–००१ च ०६७७ नम्बरका गाडी सशस्त्रले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले तीनवटै गाडी गौर भन्सार कार्यालयमा बुझाएको थियो। तर, कुखुरा स्वदेशमै उत्पादित भएको पुष्टि हुने फर्म दर्ता, अनलाइन इन्ट्री, चल्ला खरिदको बिल, दाना खरिदको बिल तथा भेटेरिनरी प्रमाणपत्रलगायतका कागजात पेस भएपछि भन्सार कार्यालयले आइतबार दिउँसो तीनवटै गाडीमा रहेका कुखुरा सम्बन्धित किसान तथा व्यवसायीलाई फिर्ता गरेको छ।

किसानका अनुसार भन्सार कार्यालयमा बुझाउनुअघि नै गाडीको माथिल्लो तहमा राखिएका सयौँ कुखुरा बाटोमै हराएका छन्। जीवित कुखुरालाई लामो समय नियन्त्रणमा राख्दा मर्ने तथा नष्ट हुने जोखिमसमेत हुने उनीहरूको भनाइ छ। यो घटनाले भारतीय कुखुराको अवैध आयात नियन्त्रणको माग गर्दै आन्दोलन गरिरहेका किसानमा सुरक्षा निकायको कदमप्रति असन्तुष्टि बढाएको छ।

रौतहटका कुखुरापालक किसानले केही दिनयता जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट भारतीय कुखुरा निर्वाध रूपमा नेपाल भित्रिरहेको आरोप लगाउँदै आएका छन्। सीमामा तैनाथ सुरक्षाकर्मीकै मिलेमतोमा भारतीय कुखुरा नेपाली बजारमा आउने गरेको आरोप लगाउँदै किसानले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन्।

ज्ञापनपत्रमा सीमामा खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा भारतीय कुखुरा नेपाली बजारसम्म पुग्ने गरेको उल्लेख गरिएको किसानहरूले बताएका छन्। सञ्चारमाध्यममार्फत पनि भारतीय कुखुराको अवैध आयातका कारण नेपाली कुखुरापालक किसान संकटमा परेको विषय सार्वजनिक हुँदै आएको छ।

जिल्ला कुखुरा व्यावसायिक किसान संघका अनुसार भारतबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम रोक्न माग गर्दै किसानहरू करिब तीन सातादेखि आन्दोलनमा छन्। तर, वास्तविक तस्करी नियन्त्रण गर्नुको सट्टा स्वदेशी उत्पादन ढुवानी गरिरहेका किसान तथा व्यवसायीलाई नै दुःख दिने काम भएको संघको आरोप छ।

संघका सचिव राधेश्याम साहले नेपालमै लगानी गरेर उत्पादन गरिएको कुखुरा आवश्यक कागजातसहित ढुवानी भइरहेका वेला त्यसलाई भारतीय भन्दै नियन्त्रणमा लिनु दुःखद भएको बताए। ‘वास्तविक तस्करी नियन्त्रण गर्नुको सट्टा स्वदेशी किसान तथा व्यवसायीलाई दुःख दिने काम भइरहेको छ,’ उनले भने।
साहका अनुसार कानुनी कागजात हुँदाहुँदै कुखुरा नियन्त्रणमा लिइएको थियो।

किसानहरूले भारतबाट हुने अवैध कुखुरा आयातले नेपाली उत्पादनको बजार प्रभावित भएको भन्दै सीमामा कडाइ गर्न माग गर्दै आएका छन्। उनीहरूले स्वदेशी उत्पादनको ढुवानीमा आवश्यक कागजात जाँच गरेर मात्रै कारबाही गर्न र वास्तविक तस्करी नियन्त्रणमा ध्यान दिन सुरक्षा निकायसँग आग्रह गरेका छन्।

कुखुरा व्यवसायीहरूले नियन्त्रणमा लिइएका कुखुरा लामो समयसम्म राख्दा मरेमा वा नष्ट भए त्यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाएका छन्। लाखौँ रुपैयाँ लगानी गरेर उत्पादन गरिएको कुखुरा नियन्त्रणमा लिएर अनावश्यक दुःख दिनेभन्दा भारतीय कुखुराको अवैध आयात रोक्न सीमामा प्रभावकारी निगरानी आवश्यक रहेको उनीहरूको भनाइ छ।

सुझावित समाचार