अझ व्यापक हुनुपर्छ साक्षरताको अर्थ

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण
  • साक्षरता भनेको केवल पढ्न जान्ने मानिस तयार पार्नु मात्र होइन, यो त नागरिकलाई सशक्त बनाउने विषय पनि हो

आज हामी अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा यो कुरा स्मरण गर्नु महत्वपूर्ण छ कि साक्षरता भनेको केवल पढ्न र लेख्न सक्ने क्षमता मात्र होइन, बरु यो एक मौलिक मानव अधिकार तथा व्यापक ज्ञान, सिप र अवसर प्राप्त गर्ने आधार पनि हो । यद्यपि, यो दुःखद कुरा हो कि दशकौँको प्रगतिपछि पनि विश्वभर कम्तीमा ७३ करोड ९० लाख युवा तथा वयस्कमा अझै पनि आधारभूत साक्षरता सिपको अभाव छ । ठुलो संख्यामा रहेको निरक्षर समूहलाई साक्षर बनाउनु सरकारका लागि एउटा चुनौती हो । यस्तो चुनौती पूरा गर्न राज्यका संयन्त्रलाई परिचालन गरिनुपर्छ ।

बंगलादेशका लागि यो विशेष रूपमा सान्दर्भिक चासोको विषय हो । विशेषगरी, युवा पुस्तामा शिक्षाको पहुँच विस्तार गर्ने सन्दर्भमा यस मुलुकले उल्लेखनीय प्रगति गरेको छ, युनेस्कोको तथ्यांकनुसार युवा साक्षरता दर ९३.४ प्रतिशत छ भने २५ देखि ६४ वर्ष उमेर समूहका मानिसमा साक्षरता दर ७६.१ प्रतिशत रहेको छ । यी तथ्यांकले बंगलादेशले कति प्रगति गरिसकेको छ र अझै कति काम गर्न बाँकी छ भन्ने तथ्यलाई दर्साउँछन् । सरकारले साक्षरताको क्षेत्रमा अझै थप प्रगति गर्नुपर्ने देखिन्छ । अझ महत्वपूर्ण कुरा त के हो भने साक्षरतालाई केवल नाम लेख्न वा एउटा वाक्य पढ्न जान्नेबित्तिकै टुंगिने तथ्यांकका रूपमा मात्र हेर्नु हुँदैन । बढ्दो डिजिटल समाजमा मानिसहरू सूचना बुझ्न, तथ्य र गलत सूचनाबिचको भिन्नता छुट्याउन, प्रविधिको प्रयोग गर्न तथा सिकेका कुरालाई दैनिक निर्णय प्रक्रियामा लागू गर्न सक्षम हुनुपर्छ । बंगलादेशका लागि यो विशेषगरी महत्वपूर्ण छ, किनकि यहाँ डिजिटल सेवा, वित्तीय प्रणाली, स्वास्थ्यसम्बन्धी जानकारी र सरकारी सेवाको पहुँच तीव्र गतिमा विस्तार भइरहेको छ ।

अहिले यहाँ दुइटा चुनौती छन्—  बालबालिकाले साक्षरताको बलियो आधार प्राप्त गर्ने सुनिश्चित गर्नु र औपचारिक शिक्षा प्रणालीको पहुँचबाट बाहिर रहेका वयस्कसम्म पुग्नु । ग्रामीण समुदाय, विपन्न परिवार, ज्येष्ठ नागरिक र जलवायु परिवर्तनको उच्च जोखिममा रहेका क्षेत्रमा बसोवास गर्ने मानिस यस्तो शिक्षाका लागि विशेष हकदार छन् । दूर क्षेत्रमा रहेका वयस्कलाई साक्षर बनाउने प्रयासलाई सशक्त बनाउनुपर्छ ।

खुसीको कुरा, बंगलादेशमा नवीन प्रयासका उदाहरण पहिले नै उपलब्ध छन् । जस्तै– ‘सिधुलाई स्वनिर्भर संस्था’द्वारा सञ्चालित सौर्य ऊर्जाबाट चल्ने विद्यालय । यी विद्यालयले युनेस्कोको ’कन्फ्युसियस साक्षरता पुरस्कार’ प्राप्त गरेका थिए ।

साक्षरतालाई केवल कुनै विशेष अभियानको विषयका रूपमा मात्र नहेरी, सरकारले यस्ता पहललाई अझ विस्तार र सुदृढ गर्नुपर्छ । पर्याप्त बजेटसहितको वयस्क शिक्षा, सिकाइको बलियो आधार, प्रशिक्षित शिक्षक र सहज पहुँचयोग्य डिजिटल साक्षरता कार्यक्रम अपरिहार्य छन् । यस अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बंगलादेशले यो कुरा स्मरण गर्नुपर्छ कि साक्षरता भनेको केवल पढ्न जान्ने मानिस तयार पार्नु मात्र होइन । यो त नागरिकलाई बुझ्न, सहभागिता जनाउन र समृद्ध बन्न सक्षम बनाउने विषय हो, र यही नै अन्तिम लक्ष्य हुनुपर्छ ।

(ढाका ट्रिब्युनको सम्पादकीयबाट)

सुझावित समाचार