राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनर्निर्माण र पुनर्स्थापनासँगै नेपालको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्।
भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
विगतमा पनि भूकम्प, बाढीपहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरू आइपरेकाे उल्लेख गर्दै उनले भने, ‘यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो।’
पीडितलाई अहिले राज्यको साथ र भरोसा चाहिएको स्पस्ट पार्दै उनले थपे, ‘हामी पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।’