नारीवादी अभियन्ता ग्लोरिया स्टाइनमको बुधबार ९२ वर्षको उमेरमा न्युयोर्कस्थित आफ्नो घरमा मृत्यु भयो । ग्लोरियाको नाम नारीवादी आन्दोलनको पर्यायजस्तै थियो भने उनी यस आन्दोलनका लागि मानव ‘मस्कट’ (प्रतीक) जस्तो थिइन् ।
१९३४ मा ग्लोरिया जन्मिँदाको समयतिर महिलालाई मताधिकार दिलाउन भूमिका खेलेका पहिलो लहरको नारीवाद समाप्त भइसकेको ठानिएको थियो । सन् १९३० र ४० को दशकमा ओहायो राज्यमा हुर्कँदै गर्दा ग्लोरिया स्टाइनमलाई दुई दशकअघि महिलालाई मताधिकार दिलाउन भएको आन्दोलन सायद कुनै सुदूर घटनाजस्तो लाग्थ्यो, समय र प्रयोजन दुवैका हिसाबमा । विशेषगरी, उनीजस्तो गम्भीर मानसिक रोगले ग्रस्त एकल आमाको हेरचाहमा हुर्किरहेकी युवतीलाई जुन विपन्न र घुमन्ते जीवनमा बाँच्नुपरिरहेको थियो, त्यसमा स्टाइनमलाई महिलाको स्थितिभन्दा बढी तत्कालीन चिन्ताले बढी सताउँथ्यो होला ।
कुनै महिलालाई हुर्काइ अनुभवले आफ्नो लैंगिक अवस्थाप्रति सचेत बनाउँदै क्रान्तिकारी बनाउँछ । स्टाइनमले महिलाले मात्र पढ्न पाउने स्मिथ कलेजमा पढिन् । शिक्षाले उनका अगाडि पहिले आशा नगरिएको सम्भावनाको ढोका खोलिदियो । स्नातकोत्तर फेलोसिपका लागि उनी भारत गइन् । पछि, उनी न्युयोर्क म्यागजिनमा पत्रकारिता गर्न थालिन् । यसै पत्रिकामा काम गर्दा सन् १९६९ मा त्यतिवेला महिला मुक्ति आन्दोलन (विमिन्स लिबरेसन मुभमेन्ट) भनेर चिनिने सानो उदीयमान क्रान्तिकारी महिलाको समूहको कार्यक्रमले उनको जीवन नै मोडिदियो ।
‘गर्भपतनसम्बन्धी सम्बोधन’ नामको कार्यक्रम वासिंटन स्क्वायर पार्कनजिकै एक चर्चमा भएको थियो । त्यहाँ भेला भएका महिलाले त्यस अवसरमा गर्भपतन गैरकानुनी भएकाले आफूहरू कति धेरै असुरक्षित रूपमा अवैध गर्भपतन गर्न बाध्य भएको अनुभव सुनाएका थिए । इसाई धर्मले गर्भपतनलाई पाप मान्ने गरेकाले धेरै देशमा लामो संघर्षपछि मात्र यो अधिकारलाई कानुनी रूप दिइएको हो । त्यसअघि गर्भपतन लुकिछिपी असुरक्षित रूपमा गर्नुपर्ने बाध्यता थियो । त्यस्तो अवैध सेवा दिने स्थानबारे प्रहरीलाई बताइदिने डरले सेवाग्राही महिलालाई सेवाप्रदायकका दलालले कारको पछाडि आँखा बन्द गरेर अज्ञात स्थानमा लग्ने गरेको महिलाले बताए । त्यस्तै, अधिकांश गर्भपतन गर्ने पुरुष चिकित्सक सेवा दिने समय पनि कामातुर र रक्सीले टिल्ल हुने भएकाले डर बढ्ने तिनले सुनाए ।
त्यस्तै, केहीले सीमित अवस्थामा पाउने कानुनी छुट पाउन बारम्बार आत्महत्या गर्ने धम्की दिनुपरेको तितो अनुभव सुनाए । विशेष अवस्थामा गरिएका गर्भपतनपछि पनि अस्पतालका बेडमा बेवास्तापूर्ण छाडिने गरेको, रक्तस्राव तथा गम्भीर सेप्सिसका कारण बाँच्ने–नबाँच्ने कुराको अनिश्चितताको डरबारे बताएका थिए । आममहिलाको पीडा, अपमानका यी अनुभवले स्टाइनेमलाई प्रभावित गर्यो ।
उसो त पत्रिकाका लागि उनले छिटपुट महिलाको स्थितिबारे लेखिरहेकी थिइन् । करिब ६ वर्षअघि उनले पुरुष पत्रिका ‘प्लेब्वाय’ले आयोजना गर्ने कामोत्तेजक पार्टीमा महिला मोडलको अवस्थाबारे लेखेको लेख चर्चित बनेको थियो । ‘ए बन्निज टेल’ नामक लेखमा उनले ‘प्लेब्वाय क्लब’मा सहभागी हुने बन्निज भनिने महिला मोडलबारे केन्द्रित थियो । यस लेखका लागि उनले बुझ्न लुकेर क्लबका पार्टीमा छिर्नुपरेको थियो । तर, आज विश्वले चिन्ने स्टाइनम भने त्यसै दिन चर्चमा भएको कार्यक्रममा जन्मिएकी थिइन् । त्यस कार्यक्रमबाट जुन स्टाइनम पसेकी थिइन्, बाहिरिँदा उनी अर्कै बनिसकेकी थिइन् । वासिंटन स्क्वायर पार्कको कार्यक्रमबाट निस्किएकी स्टाइमन नै पछि दोस्रो नारीवादी लहरको सबैभन्दा परिचित अनुहारमध्ये एक बनिन् ।
पत्रकारिता छाडेर आएकीले उनलाई आमसञ्चारको गतिशीलता थाहा थियो । उनी आफ्नो खिरिलो शरीर र राम्रो रूपले धेरैको ध्यान तान्न सक्नेमा सचेत थिइन् । यसलाई उनले नारीवादी उद्देश्य विस्तारको प्रयोग गरिन् । उसो त उनी पहिलो नाम चलेकी नारीवादी थिइनन्, तर उनलाई सेलिब्रेटी युगको पहिलो प्रसिद्ध नारीवादी भने भन्न सकिन्छ, जसले म्याडोना र जोन अफ आर्कको बिचको सार्वजनिक व्यक्तित्व निर्माण गरिन् ।
सन् १९७२ मा सुरु भएको उनको पत्रिका ‘एमएस’ले न्युयोर्क र सिकागोजस्ता ठुला सहरको सांस्कृतिक केन्द्रमा सीमित महिला मुक्ति आन्दोलनलाई अमेरिकाभर विस्तार गरिदियो । तर, स्टाइनमको काम मिडियामा मात्र सीमित थिएन, उनले डेमोक्य्राटिक पार्टीभित्र नारीवादी आन्दोलनलाई एक बलियो शक्ति बनाउन अथक मिहिनेत गरिन् । उनले डेमोक्रेट्स पार्टीका उम्मेद्वारले महिला सशक्तीकरणका ठोस नीतिगत प्रतिबद्धताको बदलामा उम्मेद्वारलाई समर्थन जनाउने गर्थिन् ।
दोस्रो नारीवादी लहरको शिखरमा र उनको जीवनको पछिल्ला दशकमा उनले आफूलाई गठबन्धन निर्माणमा सबैभन्दा बढी सक्रिय राखिन् । अहिलेजस्तै दोस्रो नारीवादी लहरकालमा पनि नारीवादी आन्दोलन असंगठित र आन्तरिक रूपमा विभाजित थियो । आन्दोलन प्राथमिकता, रणनीति र अन्तिम उद्देश्यमा कायम असहमतिका कारण गहिरो रूपमा विभाजित थियो । सम्भवतः स्टाइनमको सेलिब्रेटी पहिचान वा कोष संकलन गर्ने क्षमताका कारण हुनुपर्छ, उनले यीमध्ये जुन धारको पक्ष लिन्थिन्, त्यो पक्षले हाबी हुने गर्थ्यो ।
तर, धेरै अन्य आन्दोलनमा जस्तै नारीवादी आन्दोलनमा पनि राजनीतिक मतभेद प्रायः व्यक्तिगत प्रतिशोधमा परिणत भए । तथापि, यसमा स्टाइनम एक असामान्य रूपमा करुणामयी प्रतिद्वन्द्वी थिइन्, जो आत्मालोचना गर्न वा गम्भीर रूपमा भिन्न समूहसँग पनि बहस गर्न सधैँ तयार रहिन् । उनले आफूभन्दा बिल्कुल फरक विचार राख्ने युवा नारीवादीलाई प्रोत्साहित गर्न असामान्य रूपमा इच्छुक थिइन् । यसैले, सबै पुस्ताका नारीवादी उनको कुर्सीको छेउमा घुँडा टेकेर उनका कुरा सुन्न लालायित हुन्थे ।
नारीवाद (विशेषतः महिला मुक्तिसम्बन्धी राजनीतिक आन्दोलनका रूपमा) अहिले अत्यन्त प्रतिरक्षात्मक अवस्थामा छ । उनले ‘एमएस’ म्यागजिन सुरु गरेको दशकौँपछि दोस्रो नारीवादी लहरको उचाइमा आन्दोलनको धरातलीय अभियन्तामाझ ऊर्जा घट्यो भने प्राज्ञिक तथा संगठित क्रान्तिकारी वामपन्थी दुवैले महिलाको स्थितिसम्बन्धी रुचि गुमाए । सामाजिक सञ्जालको उदयको प्रारम्भिक कालमा छोटो समयका लागि महिला हिंसा र अपमानप्रतिको आममहिला असन्तुष्टिलाई मापनयोग्य राजनीतिक कार्यमा रूपान्तरण गर्न सकिन्छ कि जस्तो देखिएको थियो । तर, यो छिटै नै आमपुरुष आक्रोशलाई परिचालन गर्न र गर्भसम्बन्धी अनेक भाइरल गलत जानकारी फैलाउने प्रभावकारी माध्यम साबित भयो । परिणामस्वरूप यही कालमा अर्थात् सन् २०२२ मा अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन अधिकारलाई संघीय संवैधानिक संरक्षण दिने व्यवस्था अन्त्य गर्यो ।
संगठित नारीवाद अहिले धेरै हदसम्म केही उदारवादी गैरसरकारी संस्थाको विषयमा सीमित बनेको छ, जो आफैँ ट्रम्प र उनका सहयोगीको निसानामा परिरहेको छ । यदि नारीवादलाई पुनर्जीवित गर्ने हो भने अब यसलाई पूरै जगबाट पुनर्निर्माण गर्नुपर्नेछ । स्टिाइनमविना यो कार्य कठिन हुनेछ ।
(डोनेगन नारी सशक्तीकरणबारे कलम चलाउने पत्रकार हुन् । द गार्जियनबाट श्रवण उप्रेतीको अनुवाद)