सन् १९७९ : पायनियर ११ नामक यान शनिग्रहको सबैभन्दा नजिक पुग्यो । नासाद्वारा निर्मित स्पेस प्रोब शनिग्रहनजिक पुग्ने पहिलो यान थियो । यो १३ हजार माइलको दूरीमा उडेको थियो ।
सन् १९५२ : लाइफ म्यागजिनले ‘ओल्ड म्यान एन्ड द सी’का अंश प्रकाशित गर्यो । अमेरिकी लेखक अर्नेस्ट हेमिङ्वेको सबैभन्दा प्रसिद्ध कृतिमध्येको एक यस उपन्यासले एक वृद्ध मानिस र उसको माछा मार्ने दुस्साहसको कथा बताउँछ । उनीबारे लेखिएको अंश प्रकाशित भएको केही दिनमै पत्रिकाको ५० लाखप्रति बिक्री भएको थियो ।
सन् १९६९ : मुअम्मर अल गद्दाफीको नेतृत्वमा रहेको युवा सैन्य अधिकारीको एक समूहले तत्कालीन राजालाई अपदस्थ गरी लिबियालाई गणतन्त्र बनाएको थियो ।
सन् १९८५ : डुबेको टाइटेनिक जहाजको भग्नावशेष उत्तर एट्लान्टिक सागरमा फेला परेको थियो । सन् १९१२ को १४ अप्रिलमा डुबेको जहाजको भग्नावशेषलाई फ्रान्स र अमेरिकी आरोहण समूहले फेला पारेको थियो ।
सन् २००४ : नर्थ ओसेटियाको बिस्लानमा भएको नरसंहारमा बालबालिकासहित ३५० जनाको मृत्यु । सशस्त्र चेचन विद्रोहीले एउटा विद्यालयमा बालबालिकासहित एक हजारजनालाई नियन्त्रणमा लिएका थिए । विद्रोहीले स्वतन्त्र चेचन्यालाई अन्तर्राष्ट्रिय मान्यता दिन माग गरेका थिए । बन्धक संकट तीन दिनसम्म चल्यो र रुसी सेनाले विद्यालयमा आक्रमण गरेपछि अन्त्य भयो ।