पाँच महिनाअघि बेपत्ता तीनजना पाइलटको अवस्था स्पष्ट नभएसम्म उनीहरूलाई कतारको नियन्त्रणमा रहेका बन्दीका रूपमा लिइने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले बताएका छन् । आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले चारजना इरानी पाइलटको अवस्थाबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘बेपत्ता पारिएका चारजनामध्ये एकजना मारिएका थिए र उनको शव फिर्ता ल्याइएको छ । जबकि, अन्य तीनजना अझै पनि बन्दी अवस्थामा छन् ।’
तेहरानले जनाएअनुसार पश्चिम एसियामा युद्ध सुरु भएको केही समयपछि अर्थात् मार्च २ मा कतारस्थित अमेरिकी ‘अल–उदेद’ हवाई अखडाविरुद्धको कारबाहीका क्रममा ती इरानी पाइलट बेपत्ता भएका थिए । शनिबार इरानी अधिकारीले पहिलोपटक ती पाइलटलाई कतारले नियन्त्रणमा लिएको आरोप लगाएका थिए ।
‘उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त गर्नु अत्यावश्यक छ,’ विदेश मन्त्रालयका प्रवक्ता बाघाईले भने । ‘पाइलटको अवस्था स्पष्ट नभएसम्म हामी उनीहरूलाई बन्दी मान्छौँ र उनीहरूको अवस्थाबारे सत्यतथ्य पत्ता लगाउन कुनै कसर बाँकी राख्नेछैनौँ ।’