बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्तासाझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही प्रदेश सभा सदस्य पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न मंगलबार काठमाडौं पुगेका छन् ।
मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने तयारी गरिरहेका वेला सत्तारूढ दलभित्रै असन्तुष्टि चर्किएपछि सरकारमाथि थप राजनीतिक दबाब परेको छ। स्रोतका अनुसार नेकपाका असन्तुष्ट सांसदहरू गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठसहितका नेता पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न काठमाडौं पुगेका हुन् ।
उनीहरूले बागमती प्रदेश सरकार गठनमा भएको मन्त्रालय बाँडफाँट र पार्टी नेतृत्वको भूमिकाप्रति गम्भीर असन्तुष्टि राख्दै आफ्नो धारणा अध्यक्षसमक्ष राख्ने तयारी गरेका छन् । विश्वासको मत लिने कार्यसूची सोमबार दिउँसो १ बजेका लागि तय गरिएको भए पनि सत्तागठबन्धनभित्र सहमति नजुटेपछि बैठक पटक–पटक सारिँदै अन्ततः मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
स्रोतका अनुसार असन्तुष्ट सांसदहरू सोमबार विश्वासको मतका लागि हेटौँडा नआएपछि नै बैठक स्थगित गर्नुपरेको अवस्था सिर्जना भएको हो । स्रोतका अनुसार पार्टी अध्यक्ष प्रचण्डले असन्तुष्ट सांसदहरूलाई हेटौँडा पुगेर सरकारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । तर, असन्तुष्ट समूहले सरकार गठन प्रक्रियामै गम्भीर कमजोरी भएको भन्दै तत्काल विश्वासको मत दिन कठिन हुने धारणा राखेको बताइएको छ ।
सोमबार दिनभर अध्यक्ष प्रचण्डले केही सांसदसँग सम्पर्क गर्न खोजे पनि उनीहरू सम्पर्कमा नआएको स्रोतको दाबी छ । त्यसपछि विश्वासको मत लिने कार्यसूची नै मंगलबारसम्मका लागि सारिएपछि भने उनीहरू अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष छलफलमा जुटेका हुन्