अरूको नक्कल गरेर नेपाली सिनेमा बलियो बन्दैन

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली मूलकी अमेरिकी निर्देशक हुन्, नानी सारा वाकर । उनी अमेरिकामा रहेर फिल्म लेखन, निर्देशन र निर्माणमा सक्रिय छिन् । काठमाडौंको सोल्टीमोडमा हुर्किएकी उनले अमेरिका र जापानबाट अध्ययन पूरा गरिन् । उनी एक्जुकेटिभ प्रोड्युसर रहेको ‘द लास्ट रिपेयर सप’ले सन् २०२४ को ओस्कार अवार्डमा लघु चलचित्र विधातर्फ अवार्ड जित्न सफल भयो । उनले नेपालमा एलजिबिटिक्यूको कथामा आधारित ‘अदर नेचर’ वृत्तचित्र पनि निर्माण गरिन् । पछिल्लो समय फिचर फिल्म ‘शक्ति’ निर्देशन गरेकी उनीसँग नेपाली समाज र अन्तर्राष्ट्रिय फिल्म यात्राबारे पवन बराइलीले कुराकानी गरेका छन् :

‘शक्ति’ फिल्म बन्नुको पछाडि कुनै सन्दर्भ वा घटना छन् कि ? 
मैले यसअघिनेपालमा एलजिबिटिक्युको कथामा आधारित ‘अदर नेचर’ वृत्तचित्र बनाएको थिएँ । त्यसबेला नेपालको संविधान र राजनीतिक प्रणाली प्रगतिशील लाग्थ्यो । यौन दुर्व्यव्यवहारका घटनामा उजुरी दिन ३५ दिनको हदम्याद राखिएको खबर पढेँ । नेपाललाई दक्षिण एसियामा प्रगतिशील देशका रूपमा हेर्थें । तर, यो कानुनी व्यवस्था पढेपछि मलाई अचम्म लाग्यो । त्यसपछि अरू धेरै महिलासँग कुरा गर्दा उनीहरूले यस्ता घटना भोगेको पाएँ । त्यसपछि मलाई लाग्यो, हाम्रो समाजमा यी विषयमा किन खुलेर कुरा हुँदैन ? कुनै व्यक्तिमाथि यस्तो घटना भयो भने ऊ किन अगाडि आउन सक्दैन ? कानुन नै बाधक रहेछ भन्ने महसुस भयो । त्यही प्रश्नबाट मैले यो फिल्म बनाउने निर्णय गरेँ । यो विषयमा सचेतना फैलाउनु पनि थियो । ‘शक्ति’ विभिन्न फिल्म फेस्टिभलमा पुग्यो । राम्रो प्रतिक्रिया पायो । अवार्ड र अन्तर्राष्ट्रिय पहिचान पनि प्राप्त भयो । अहिले फिल्म डिजिटल रूपमा विश्वभर रिलिज भएको छ । अमेरिकामा र बेलायतमा अमेजन प्राइम भिडियोमा उपलब्ध छ । अमेरिका र क्यानडामा अर्को प्लाटफर्ममार्फत पनि हेर्न सकिन्छ ।

यौन दुर्व्यवहारजस्तो संवेदनशील विषयलाई फिल्ममा उतार्दा सहज–असहज कस्तो अनुभव सँगाल्नुभयो ?
मानिसहरू यस्ता विषयमा कुरै गर्न चाहँदैनन् । समस्या लुकाउने भएरै हामी यो स्थानमा छौँ । तर, हामीले यस्ता विषयमा कुरा गर्न सक्यौँ भने मात्रै घटना कम हुन्छन् भन्ने लाग्छ । ‘शक्ति’ बनाउने क्रममा विभिन्न ल्याब र फेस्टिभलमा पुग्दा पनि सुरुमा केही प्रतिक्रिया आए । कतिपयले यस्तो विषयमा ‘हिंसा’ देखाउनुपर्छ भन्ने प्रतिक्रिया पनि आउँथ्यो । तर, हिंसा देखाउनैपर्छ भन्ने मान्दिनँ । मेरो विचारमा दर्शकलाई भावनात्मक रूपमा त्यो यात्रामा लैजान सकियो भने सबै कुरा देखाइरहन आवश्यक छैन । अहिले फिल्ममा कथाभन्दा सबै कुरा देखाउने ट्रेन्ड छ । सबै कुरा देखाउनेतिर छ रगत देखाउने, हिंसा देखाउने, मान्छे मारेको देखाउने तर, हामीले यति धेरै हिंसा देखिसकेका छौँ कि कतिपय अवस्थामा त्यसले हामीलाई छुन पनि छाडेको छ । त्यसैले म फिल्ममा भावनात्मक यात्रालाई बढी महत्व दिन्छु । भावनात्मक यात्रामा मानिसहरूलाई लैजान सकियो भने देखाइराख्नुपर्दैन ।

‘शक्ति’ विशेषतः महिलाले हेर्नुपर्ने फिल्म हो भनेको पनि सुनिन्छ । के यो सत्य हो त ? 
कतिपय पुरुष दर्शक ‘शक्ति’ हेरेपछि रुँदै आए । कोहीले ‘म पनि एउटा बुबा हुँ’ भन्दै आफ्नो अनुभव सुनाए । त्यो कुराले मलाई निकै छोयो । त्यसैले यो फिल्म महिलाका लागि मात्र होइन । यो समाजकै लागि हो । यो फिल्म बनाउने दौरानमा मैले के बुझेँ भने, यस्ता विषयमा सबै महिला सहयोगी हुँदारहेनछन् । युरोपकै मान्छेहरूले पनि ‘यो निकै संवेदनशील विषय हो, म यसबारे कुरा गर्न चाहन्नँ,’ भने । त्यसपछि मलाई लाग्यो, यो महिला र पुरुषको मात्र कुरा होइनरहेछ । महिलाहरू पनि पितृसत्तात्मक सोचका हुँदारहेछन् । धेरै पुरुष यस्ता विषयमा पनि संवेदनशील र सहयोगी हुँदारहेछन् । उनीहरूले कुरा बुझेका पनि छन्, महिलाको पक्षमा उभिएका पनि छन् । अर्को विषय मलाई के लाग्छ भने, नेपाली फिल्म उद्योग पितृसत्तात्मक सोचबाट ग्रसित छ । नेपालमा मात्र नभएर संसारका सबै फिल्म उद्योगमा पितृसत्तात्मक सोच छ । पुरुष मात्रै निर्देशक हुनुपर्ने, महिला कलाकार रोमान्टिक एक्टरको रूपमा मात्रै हेरिने चलन नेपालमा मात्र होइन, अमेरिकामा पनि छ । त्यसैले महिलाले बनाएको फिल्म महिलाले मात्रै हेर्नुपर्छ भन्ने सोच गलत छ । यो फिल्म समाजका लागि हो ।

अमेरिकामा बसेर फिल्म लेखन तथा निर्माणमा सक्रिय हुनुहुन्छ । तपाईँको अनुभवमा नेपाली समाजको मुख्य समस्या के–के हुन् ?
मेरो अनुभवमा जात व्यवस्था नेपाली समाजको मुख्य समस्यामध्ये एक हो । नेपाल र भारत चीनभन्दा निकै पछाडि छन् । यसको कारण जात व्यवस्था नै हो । जात व्यवस्थाले हाम्रो समाजलाई पुरानो सोचमै जकडेर राखेको छ । हामी त्यहाँबाट निस्कन सकेनौँ भने प्रगति हुँदैन । हामी ‘नयाँ नेपाल’को कुरा गर्छौँ । देशमा धेरै परिवर्तन भइरहेका छन् । तर, त्यो परिवर्तनसँगै हाम्रो सामाजिक सोच कति बदलिएको छ ? दक्षिण एसियाका अरू देशलाई हेर्दा पनि प्रश्न उठ्छ । थाइल्यान्ड र नेपाल करिब उस्तै समयबाट आधुनिकतातिर हिँड्न लागेका छन् । तर, आज थाइल्यान्ड कहाँ पुग्यो र हामी कहाँ छौँ । यसको कारण जात व्यवस्था नै हो । जात व्यवस्था नेपालमा मात्रै सीमित छैन । विदेश गएपछि पनि मानिसहरूले त्यही बोकेर जान्छन् । लस एन्जलस टाइम्समा रिपोर्टर हुँदा पनि यस विषयमा रिपोर्टिङ गरेकी थिएँ । नेपालबाट मात्र होइन, भारतलगायत दक्षिण एसियाका अन्य देशहरूबाट पनि जातीय विभेदको सोच अमेरिकासम्म पुगेको छ ।

अमेरिका र नेपाल दुई फरक फिल्म उद्योगमा काम गरिसक्नुभएको छ । नेपाली फिल्मको अहिलेको ट्रेन्डलाई कसरी हेरिरहनुभएको छ ?
नयाँ पुस्ताले राम्रो फिल्म बनाओस् भन्ने मेरो चाहना हो । नेपालमा एउटै किसिमका फिल्म मात्र नबनून् । हाम्रो फिल्म संस्कृतिमा विविधता आवश्यक छ । दर्शकले कस्तो फिल्म हेर्न चाहन्छन् भन्ने कुरामा पनि छनोटको विविधता हुनुपर्छ । अहिले धेरै क्रिएटर आइरहेका छन् । उनीहरूप्रति आशा पनि छ । पहिले फिल्म बनाउन धेरै पैसा र ठुलो टिम आवश्यक हुन्थ्यो । अहिले प्रविधिका कारण फिल्म निर्माण धेरै सहज बनाए छ । कम स्रोतमा पनि धेरै काम गर्न सकिने अवस्था छ । त्यसैले धेरै युवा मेकरले आफ्ना कथा भन्न सक्ने वातावरण बनेको छ । यो राम्रो कुरा हो । नेपाली फिल्म उद्योगको प्रगति भइरहेको छ । तर, अझै धेरै गर्न बाँकी छ । विशेष गरी, नेपाली फिल्मले गुणस्तरमा अझै काम गर्नुपर्छ । फिल्म आफैँमा धेरै विधा जोडिएको माध्यम हो । यसमा लेखन छ, फोटोग्राफी छ, अभिनय छ, संगीत छ, साउन्ड डिजाइन छ, प्रोडक्सन डिजाइन छ । यति धेरै विधा र अनुशासन मिलेर एउटा फिल्म बन्छ । त्यसैले यी सबै क्षेत्रमा व्यावसायिकता आवश्यक छ । नेपालमा कतिपय कामबारे अझै पर्याप्त बुझाइ विकास भएको छैन । नेपालको फिल्म उद्योग करिब ६० वर्षको भयो । तर, अमेरिका, युरोप वा भारतको फिल्म उद्योगको इतिहास हेर्दा हामीभन्दा धेरै अघि छन् । त्यसैले हामीले उनीहरूसँग तुलना गरेर निराश हुनुभन्दा सिक्नुपर्छ । हामीले ओरिजिनल आइडियामा काम गर्नुपर्छ । एक–अर्काको कामलाई सम्मान गर्नुपर्छ । त्यसबाट नै हाम्रो फिल्म उद्योग अझ व्यावसायिक र बलियो बन्न सक्छ ।

विश्वमञ्चमा नेपाली सिनेमा कहाँसम्म पुगेको देख्नुहुन्छ ?
पछिल्ला वर्षहरूमा नेपाली फिल्म विश्वका ठुला फिल्म फेस्टिभलसम्म पुगिरहेका छन् । यसले विश्व सिनेमामा नेपाली फिल्म पनि यस्ता हुन्छन् भन्ने परिचयको विस्तार गरेको छ । कतिपयलाई त यो नेपाली फिल्म हो भन्ने पनि थाहा हुँदैन । दक्षिण एसियामै हेर्दा पनि अन्य देशको तुलनामा नेपाली सिनेमा अझै त्यति राम्रोसँग चिनिन बाँकी होला । तर, पुगिरहेको छ । अब हामीले मौलिक कथामा जोड दिनुपर्छ । फेस्टिभलमा पुगेका फिल्महरू त्यहाँ मात्र सीमित हुनुहुँदैन । तिनलाई डिजिटल प्लाटफर्ममार्फत पनि दर्शकमाझ पुर्याउनुपर्छ । नेपाली सिनेमाले आफ्नो ‘ओरिजिनालिटी’ अझै बलियो बनाउनुपर्छ । एउटा फिल्म सफल भयो भन्दैमा त्यस्तै प्रकृतिका फिल्म बनाउने ट्रेन्ड पनि देखिन्छ । बलिउडमा चलेको शैलीलाई हेरेर हामीले पनि त्यस्तै फिल्म बनाउने प्रयास गर्नुहुँदैन । अरूको नक्कल गरेर नेपाली सिनेमा बलियो बन्दैन । बलियो कथालेखन र प्रभावकारी ‘स्टोरी टेलिङ’ आफैँमा एउटा क्राफ्ट हो । त्यसैगरी, सिनेमाटोग्राफी पनि गुणस्तरीय हुनुपर्छ । त्यसैले कथा, अभिनय, सिनेमाटोग्राफी, अन्य प्रविधि र प्रस्तुतिलगायत सबै पक्षबिच सन्तुलन मिलाएर नेपाली सिनेमालाई अघि बढाउनुपर्छ ।

सुझावित समाचार